close

अब विद्यालय तहबाटै एआई पढाउनु पर्छ- विज्ञ

टेकपाना टेकपाना

फागुन २२, २०८० १२:२

अब विद्यालय तहबाटै एआई पढाउनु पर्छ- विज्ञ

 

काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योग स्थापनाका लागि विद्यालय तहबाटै पढाइ सञ्चालन गर्नुपर्नेमा विज्ञहरूले जाेड दिएका छन् । आइतबार राजधानीमा आयोजित ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता र रोजगारीको अवसर’ नामक कार्यक्रममा विज्ञहरूले विद्यालय तहदेखि नै एआईबारे पाठ्यक्रम राख्नुपर्ने सुझाव दिएका हुन् । 

वाइजयाक सलुसन्स प्रालिका प्रमुख वैज्ञानिक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुरेश मानन्धरले नेपालमा एआई उद्योगका लागि चाहिने सीप विकास गर्न शैक्षिक प्रणाली सुधार आवश्यक रहेकाे बताए ।

“एआईको सन्दर्भमा नेपालको कम्प्युटर विज्ञान उपयुक्त छैन, त्यसलाई परिमार्जन गर्नुपर्छ,” डा. मानन्धरले भने, “एआईका लागि म्याथम्याटिकल थिङ्किङ, कोडिङ स्किल चाहिन्छ । मेरो चार वर्षको अनुभवमा नेपालको कम्प्युटर इन्जिनियरसँग यी सीप पर्याप्त छैन ।” नेपालमा एआई युगमा जाँदै गर्दा यी सीप अत्यावश्यक भएको उनको भनाइ छ ।

यसकारण गुणस्तरीय उच्च शिक्षामा लगानी गर्नु अहिलेको आवश्यकता भएको उनले बताए । “एआई इन्जिनियर बन्न चार वर्षे स्नातक कोर्स आवश्यक पर्दैन । त्यसमा चाहिने सीप प्रदान गर्न दुई वर्ष पर्याप्त हुन्छ ।”

एसोसिएसन अफ इन्जिनियरिङ कलेज अफ नेपाल (एकन) का अध्ययक्ष ई. हिरेन्द्रमान प्रधान पनि उनको कुरामा सहमत देखिए । नेपालले एआई प्रयोग गर्न चाहे पनि दक्ष जनशक्ति अभाव भएको उनले धारणा राखे । 

“यदि विभिन्न क्षेत्रमा एआई प्रयोग गर्न चाहे पनि अहिलेको अवस्थामा हामीसँग दक्ष जनशक्ति छैनन् । सुरुमा जनशक्तिलाई तालिम दिनु पर्छ । यसका लागि शिक्षाको नीतिमा परिवर्तन गर्न आवश्यक छ । र, पाठ्यक्रम नै परिवर्तन गरेर विद्यालयमा तहमा नै एआईबारे जानकारी दिनु पर्छ । ताकि यसका आधारभूत सीप र ज्ञान विद्यालय तहमा नै हुँदा विद्यार्थीले जानुन्,” उनले भने ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित भने एआईको दक्ष जनशक्ति तयार पार्न सरकारले सही पार्टनर चयन गर्नुपर्ने बताए । एआई सधैं परिवर्तन र विकास भइरहने भएकाले त्यो लय पकड्न तालिम अनिवार्य भएको उनको धारणा छ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० १२:२