close

जीपीएस र स्तरीय क्यामेरा सहितको प्रहरी टोली काठमाडौंमा चौबिसै घण्टा सुरक्षा दिने

टेकपाना टेकपाना

फागुन २४, २०८० १४:२३

जीपीएस र स्तरीय क्यामेरा सहितको प्रहरी टोली काठमाडौंमा चौबिसै घण्टा सुरक्षा दिने

काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि ‘ई-किपिङ द पोलिस क्विक रेस्पोन्स टिम’ (ई-क्यूआरटी) को सुरुवात भएको छ । बुधवार उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको प्रमुख उपस्थितिमा प्रविधियुक्त ई-क्यूआरटी टोलीको सुरुवात भएको हो । 

पुलिस क्यूआरटी अन्तर्गत काठमाडौं जिल्लाभरका ६० ओटा क्यूआरटी (क्विक रेस्पोन्स टिम)लाई विभिन्न प्रविधि जडान गरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

ई-क्यूआरटी परियोजना अन्तर्गत जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त/प्रभागबाट खटिने प्रहरी टोलीको स्थान ट्रयाकिङ गर्न उनीहरूले लगाउने फ्लोरेसेन्ट ज्याकेटमा जीपीएस जडान गरिएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार क्यूआरटी टोलीलाई ट्रयाक गर्न ज्याकेटमा जीपीएस जडान गरिएको हो ।

“प्रहरी टोली समयमै घटनास्थल नपुगेको गुनासो आइरहेको हुन्छ,” एसपी अधिकारीले भने, “कतिपय अवस्थामा प्रहरी जाममा पर्ने वा अन्य विभिन्न अप्ठ्यारोमा पर्ने हुनसक्छ । त्यस्तोमा क्यूआरटीका रूपमा खटिएको प्रहरी टोलीलाई ट्रयाक गर्न यस्तो प्रणाली जडान गरिएको  हो ।”

जीपीएसको सबै डेटा प्रहरीको कन्ट्रोल रुममा हुन्छ । उक्त रुमबाट प्रहरीलाई २४सै घण्टा ट्रयाक गरिने उनले सुनाए । त्यस्तै प्रहरी घटनास्थलमा पुग्दा राम्रो जवाफ नदिएको, यथार्थ विवरण सङ्कलन नगरेको भन्ने गुनासो आइरहेको हुन्छ । त्यस्तोमा घटनास्थलको सबै विवरण रेकर्ड गर्न कमान्डरले शरीरमा 'बडी वर्न क्यामेरा' जडान गरिएको उनले सुनाए । 

यस्तो क्यामेराले कमान्डरको गतिविधि स्वचालित रूपमा २४सै घण्टा रेकर्ड गर्ने र उक्त भिडिओ प्रहरी कन्ट्रोल रुमबाट लाइभ हुने एसपी अधिकारीको भनाइ छ । 

त्यसैगरी फर्स्ट रेस्पोन्डका रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुन पोलिस क्विक रेस्पोन्स टिमको काम कारवाहीलाई शीघ्र, चुस्त र प्रभावकारी बनाउन क्यूआरटीका प्रहरी कर्मचारीलाई सुरक्षा उपकरण उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०८० १४:४७