close

स्टार्टअप कम्पनी इन्टरल्युनको लक्ष्यः चन्द्रमा उत्खनन गरी हेलियम-३ पृथ्वीमा ल्याउने

टेकपाना टेकपाना

चैत ७, २०८० ९:४३

स्टार्टअप कम्पनी इन्टरल्युनको लक्ष्यः चन्द्रमा उत्खनन गरी हेलियम-३ पृथ्वीमा ल्याउने

काठमाडौं । ‘इन्टरल्युन’ नामक एक उदाउँदै गरेको स्टार्टअप कम्पनी चन्द्रमाका प्राकृतिक संसाधन उत्खनन गर्न र तिनलाई पृथ्वीमा ल्याएर बिक्री गर्ने पहिलो निजी कम्पनी बन्ने कोसिसमा छ । इन्टरल्युनले सुरुवातमा हेलियम-३ मा ध्यान केन्द्रित गर्नेछ । यो एउटा यस्तो हेलियम आइसोटोप हो, जुन सूर्यको माध्यमबाट फ्युजन प्रक्रियाबाट तयार हुने गर्छ, जुन चन्द्रमामा प्रचुर मात्रामा रहेको छ ।

इन्टरल्युनका संस्थापक मध्येका एक तथा ब्लु ओरिजिनका अध्यक्ष रोब मेयर्सनले आर्स टेक्निकासँगको एक अन्तर्वार्तामा नासाको सहयोग प्राप्त आगामी एक व्यावसायिक चन्द्रमा मिसन मार्फत आफ्नो हार्वेस्टर उड्ने आशामा कम्पनी रहेको बताएका छन् । मेयर्सनले भनेका छन् कि सन् २०२८ सम्म चन्द्रमामा एक पाइलट प्लान्ट स्थापना गर्ने र सन् २०३० देखि त्यसलाई सञ्चालनमा ल्याइनेछ । 

इन्टरल्युनले गत साता मात्रै १८ मिलियन अमेरिकी डलर लगानी जुटाएको छ । जसमा पछिल्लो राउण्डमा रेडिटका सह-संस्थापक एलेक्सिस ओहानियनले सुरु गरेको भेन्चर क्यापिटल फर्म सेभेन सेभेन सिक्स नेतृत्वको १५ मिलियन अमेरिकी डलर समेत समावेश छ ।

यसले जुन हेलियम-३ संसाधनलाई लक्षित गरिरहेको छ, त्यसको उपयोग पृथ्वीमा क्वान्टम कम्प्युटिङ, मेडिकल इमेजिङ जस्ता एप्लिकेसनमा गर्न सकिनेछ र सायद कुनै दिन फ्युजन रिएक्टरका लागि इन्धनको रूपमा समेत प्रयोग गर्न सकिनेछ । हेलियम-३ सौर्य हावाको माध्यमबाट चन्द्रमासम्म आइपुग्छ र त्यहाँको सतहमा रहेको माटोमा अडिएर बसेको ठानिन्छ । तर जब यो पृथ्वीसम्म आइपुग्छ, त्यसलाई म्याग्नेटोस्फेयरले रोकिदिन्छ । 

भारी मात्रामा चन्द्रमाको माटो (अर्थात् सतहमा रहेका ठोस तथा छरपस्ट टुक्राहरू) खन्ने र त्यसलाई प्रशोधन गरी हेलियम-३ ग्यास निकाल्ने र त्यसलाई पृथ्वीमा ल्याएर आउने इन्टरल्युनको लक्ष्य रहेको छ । चन्द्रमाको सतहका निश्चित स्थानमा उपलब्ध हेलियम-३ आँकलन गर्न इन्टरल्युनले आफ्नो स्वामित्वमा रहेको चन्द्र हार्वेस्टरको साथमा एउटा रोबोटिक ल्यान्डर मिसनको समेत योजना बनाइरहेको छ । 

"इतिहासमा पहिलो पटक," मेयर्सनले प्रेस विज्ञप्तिमा भनेका छन्, "चन्द्रमाबाट प्राकृतिक संसाधन उब्जाउने कार्य प्राविधिक र आर्थिक रूपमा सम्भव छ ।" मेयर्सन सहितको संस्थापक टिममा ब्लु ओरिजिनका पूर्व प्रमुख आर्किटेक्ट गेरी लाई, एपोलो १७ का अन्तरिक्ष यात्री ह्यारिसन एच श्मिट, रकेट ल्याबका पूर्व कार्यकारी इन्द्र हर्न्सबी र जेम्स एन्टिफेब (जसले अल्फाबेटको हाइ-अल्टिच्युड बलुन परियोजना, लुनका लागि काम गरेका थिए) रहेका छन् । 

पछिल्लो अध्यावधिक: चैत ७, २०८० ९:४३