close

७० लाख विद्युतीय कार निर्माण गर्ने विश्वकै पहिलो कम्पनी बन्यो बीवाईडी

टेकपाना टेकपाना

चैत १४, २०८० १३:४८

७० लाख विद्युतीय कार निर्माण गर्ने विश्वकै पहिलो कम्पनी बन्यो बीवाईडी

काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले नयाँ रेकर्ड राखेको छ । कम्पनीले ७० लाख विद्युतीय गाडी निर्माण गर्ने विश्वकै पहिलो कम्पनीको रूपमा पछिल्लो रेकर्ड कायम गरेको हो ।

सोमबार कम्पनीले आफ्नो ७० औं लाखको पहिलो गाडी निर्माण गरेको उल्लेख छ । त्यस अवसरमा चीनमा रहेको जिनान फ्याक्ट्रीमा डेन्जा एन सेभेन नाम दिइएको नयाँ मोडेलको गाडी अनावरण गरिएको थियो ।

बीवाईडीले एक लाख विद्युतीय गाडी निर्माणको आँकडा मे २०२१ मा पार गरेको थियो । त्यसको १८ महिनामा तेब्बर हुँदै अर्को नौ महिनामा ५० लाख गाडी निर्माणको रेकर्ड राख्न सफल भएको थियो ।

उक्त आँकडा पार गरेको सात महिनामै कम्पनी थप २० लाख विद्युतीय गाडी निर्माण गर्दै ७० लाखको कोसेढुङ्गो पार गरेको हो । सन् २०२३ मा मात्रै बीवाईडीले ३० लाख २०० गाडी बिक्री गरेको थियो भने विश्वमा सबैभन्दा बढी विद्युतीय गाडी बिक्री गर्ने मामिलामा टेस्लालाई समेत पछि पार्दै पहिलो नम्बरमा आउन सफल बन्यो ।

सबैभन्दा धेरै विद्युतीय गाडी निर्यात गर्ने शीर्ष चिनियाँ कम्पनीको रूपमा रहेको बीवाईडीले ६४ देशमा आफ्नो बजार विस्तार गरिसकेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १३:४८