close

सार्वजनिक भएको २४ घण्टामै साओमीको पहिलो ईभी ‘सोल्डआउट’, ग्राहकले ७ महिनापछि पाउने

टेकपाना टेकपाना

चैत १९, २०८० १३:४८

सार्वजनिक भएको २४ घण्टामै साओमीको पहिलो ईभी ‘सोल्डआउट’, ग्राहकले ७ महिनापछि पाउने

काठमाडौं । सार्वजनिक भएको २४ घण्टामै साओमीको पहिलो विद्युतीय कार ‘सोल्डआउट’ भएको छ । शुक्रवार चीनका विभिन्न ठाउँमा खुलाइएको बुकिङमा २४ घण्टाभित्रै करिब ९० हजार ‘एसयू सेभेन’ कार अर्डर भएको कम्पनीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै साओमीले एक दिनमै प्रि-अर्डरमा राखिएका सबै कार ‘सोल्डआउट’ भएकाे जानकारी दिएकाे छ ।

साओमीले एसयू सेभेन, एसयू सेभेन प्रो र एसयू सेभेन म्याक्स गरी तीन भेरियन्टमा यो कार सार्वजनिक गरेको थियो । यसपछि २०२४ का लागि खुलेको​ बुकिङमा ८८ हजार ८९८ ओटा अर्डर पाएकाे कम्पनीले जनाएकाे छ ।

ग्राहकले आफूले अर्डर गरेको कार पाउन बढीमा ३० महिना अर्थात् सात महिनासम्म कुर्नुपर्नेछ । ​एसयू सेभेन र एसयू सेभेन प्रो मोडेलका कार १८ देखि २० हप्तामा ग्राहकसम्म पुग्नेछ भने बढी मूल्य पर्ने एसयू सेभेन म्याक्स २७ देखि ३० हप्तासम्ममा ग्राहकसम्म पुग्ने रोयटर्सले उल्लेख गरेको छ । 

बिहीवार सार्वजनिक भएको एसयू सेभेनको शुक्रबारबाट टेस्ट ड्राइभ सुरू भएको थियो । कार सार्वजनिक भएसँगै चीनका २९ सहरका ५९ स्टोरमा भीड लागेको थियो । ग्राहकले पाँच हजार यूआन (करिब ९२ हजार रुपैयाँ) डिपोजिट राखेर कार बुक गर्नसक्ने व्यवस्था मिलाइएकाे थियाे ।

साओमीले एसयू सेभेन उत्पादनका लागि राज्यको स्वामित्वमा रहेको बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कर्पाेरेसन (बीएआईसी) लाई प्रयोग गरेको बुकिङबाट खुलेको छ । उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईटीटी) का अनुसार साओमी एसयू सेभेनलाई बीएआईसीको सहायक कम्पनी बीएआईसी अफ रोड भेहिकल कम्पनीले बेइजिङस्थित नयाँ साओमी प्लान्टमा एसेम्बल गर्नेछ । जर्मनी अटोमेकरको मर्सिडिज–बेन्जमा बीएआईसीको ९.९८ प्रतिशत शेयर रहेको छ । 

साओमीले जुन २०२३ मा नयाँ प्लान्ट निर्माणकाे काम सकेकाे थियाे । साओमीले एसयू सेभेनको बिक्री लाइसेन्सका लागि नोभेम्बरमा आवेदन दिएको थियो भने डिसेम्बरबाट प्लान्टमा परीक्षण उत्पादन सुरू भएको थियो । कम्पनीका अनुसार ठूलो संख्यामा एसयू सेभेनको उत्पादन सुरू भएता पनि तीव्र गतिमा भएको छैन । 

पहिलो चरणमा साओमीको बेइजिङस्थित प्लान्टमा वार्षिक डेढ लाख र दोस्रो चरणमा तीन लाखसम्म कार उत्पादन गर्ने क्षमता रहेकाे बताइएकाे छ । नयाँ प्लान्टले क्षमताअनुसार उत्पादन गर्न नसकेपनि साओमीसँग २०२४ को ८ महिनामा झन्डै एक लाख कार उत्पादन गर्न सक्छ । कम्पनीले २४ घण्टामा झन्डै ९० हजार अर्डर पाएपनि त्यसपछिका अपडेटहरू भने सार्वजनिक गरेको छैन । 

यसको सुरुवाती मूल्य दुई लाख १५ हजार ९०० यूआन (करिब ३९ लाख ७६ हजार रुपैयाँ) रहेको छ । त्यस्तै म्याक्स भर्सनको मूल्य दुई लाख ९९ हजार ९०० यूआन (करिब साढे ५५ लाख रुपैयाँ)सम्म पर्ने बताइएको छ । 

कस्तो छ एसयू सेभेन ?

साओमीले ड्रिम कारका रूपमा चिनाएकाे याे कारको लम्बाइ पाँच मिटर, चौडाइ दुई मिटर र ह्विलबेस तीन मिटर रहेको छ । यसमा २२० किलोवाट आवरको रियर ह्विल ड्राइभ मोटर रहेको छ । यसको उच्चतम स्पिड २७ हजार २०० आरपीएम रहेको छ । यसले उच्चतम ६३५ न्युटन मिटर टर्क डेलिभर गर्ने कम्पनीले जनाएको छ ।

कारले ५.३ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड पकड्ने कम्पनीको दाबी छ । यसको फास्ट भर्सनले भने यति गति जम्मा २.७८ सेकेन्डमै पकड्ने बताइएको छ । 

रेन्जको सन्दर्भमा यो गाडीले सिङ्गल चार्जमा ७०० देखि ९०० किलोमिटर दिने बताइएको छ । बेस मोडेलले ७०० किलोमिटरको स्पिड दिन सक्छ भने एसयू सेभेन प्रोले ८३० किलोमिटरको रेञ्ज दिन्छ । त्यस्तै यसको प्रिमियम भर्सन एसयू सेभेन म्याक्सले झन्डै ९०० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यसमा ११ ओटा एचडी क्यामेरा, तीन ओटा मिलिमिटर वेभ र्‍याडर, १२ ओटा अल्ट्रासोनिक र्‍याडर र लिडार प्रविधि राखिएको छ ।

गाडीको भित्रपट्टि १६.१ इन्चको थ्री के सेन्ट्रल कन्सोल, ७.१ इन्च ड्याशबोर्डर ५६ इन्चको हेड्स अप डिस्प्ले (एसयूडी) रहेका छन् । 

त्यस्तै यसमा टेस्लाको जस्तै प्योर भिजन, २५४ टप्ट कम्प्यटिङ पावर भएको एनभिदिया ड्राइभ ओरियन चिप पनि समावेश छ । यसमा भएको अटोपाइलट फिचर अप्रिल महिनामा चीनका प्रमुख १० सहरमा परीक्षण गरिने बताइएको छ । यसले एप्पल कारप्ले र आईप्याड कनेक्टिभिटी पनि सपोर्ट गर्नेछ । यसमा १०५ लिटर फ्रङ्क र ५१२ लिटर बुट स्पेस रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८० १५:४