close

एउटै मोबाइल नम्बर साढे ११ करोडमा बिक्री !

टेकपाना टेकपाना

चैत २३, २०८० १२:३९

एउटै मोबाइल नम्बर साढे ११ करोडमा बिक्री !

काठमाडौं । आफूले चाहेको कुनै कुरा पाउन कतिपय मानिस जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् । यूएईमा हालै भएको एउटा लिलामीमा यस्तै घटना भएको छ । एउटा फोन नम्बरका लागि एक व्यक्ति ३२ लाख दिराम अर्थात् साढे ११ करोड रुपैयाँभन्दा बढी तिर्न राजी भएका छन् ।

दुबईमा भएको उक्त च्यारिटी अक्सन (परोपकारी लिलामी)मा फोन नम्बर ‘०५८-७७७७७७७’ करोडौं रुपैयाँमा बिक्री भएको हो । यूएईमा अत्यधिक खोजिएको यो नम्बरमा सात ओटा ‘७’ नम्बर दोहोरिएको छ । सातलाई भाग्यशाली अंकका रूपमा लिँदै फोन नम्बरमा यति ठूलो बोली लागेको हो ।

यो नम्बरका लागि सुरुमा करिब ३५ लाख नेपाली रूपैयाँ बोली लागेको थियो, तर एकाएक बढेर साढे ११ करोड बढीसम्म पुग्यो । उक्त लिलामीमा सात नम्बर भएका अन्य नम्बरहरू धेरै बिक्री भएको बताइएको छ । दोहोरिएका अंकहरू भएका अन्य विशेष नम्बरहरूमा पनि धेरैले बोली लगाएका छन् ।

परोपकारी संस्थाहरूलाई फाइदा पुर्‍याउने गरी भएको यो लिलामीमा करोडौं रकम उठेको छ । उक्त लिलामीमा कुल करिब एक अर्ब ३८ करोड नेपाली रुपैयाँ बराबरकाे रकम संकलन भएको थियो ।

मिडिया रिपोर्ट अनुसार टेलिकम अपरेटर इतिसलाटका विशेष नम्बरहरू करिब १४ करोड र अर्को अपरेटर डुका विशेष नम्बरहरू साढे १७ करोड रुपैयाँ बढीमा बिक्री भएका थिए । लिलामीको अर्को भागको रूपमा विशेष कार नम्बर प्लेटहरू एक अर्ब रुपैयाँ बढीमा बिक्री भएका थिए ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १२:५३