काठमाडौं । नयाँ वर्ष २०८१ सँगै नयाँ ल्यापटप खरिद गर्ने योजनामा हुनुहुन्छ भने पक्कै पनि यो लेख तपाईँका लागि उपयोगी हुनेछ । कुन ल्यापटप किन्ने, कस्ताे ल्यापटप किन्ने, कति रूपैयाँकाे ल्यापटप किन्ने लगायतका प्रश्न याे बेला तपाईंभित्रै आउने गर्छ ।
आज हामी त्यस किसिमको दुविधा अन्त्य गर्न सघाउने हिसाबले तपाईँलाई ल्यापटप खरिद गर्नुअघि थाहा पाउनुपर्ने केही खास कुराको विषयमा जानकारी दिँदै छौं ।
केका लागि ल्यापटप ?
सबैभन्दा पहिले तपाईँ ल्यापटप केका लागि खरिद गर्दै हुनुहुन्छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । यदि तपाईं अफिसको काम वा बालबालिकाको पढाइका लागि खरिद गर्दै हुनुहुन्छ भने धेरै महंगो ल्यापटपको आवश्यकता पर्दैन ।
थोरै स्टोरेज भएको, कम पावर भएको हार्डवेयरबाट समेत काम चल्छ । यद्यपि गेमिङ वा एडिटिङ लगायतको कुनै अन्य प्रोफेसनल प्रयोगका लागि लिनुपर्ने छ भने ल्यापटप थोरै महंगो पर्न जान्छ । जसमा र्याम र स्टोरेज धेरै भएको लिनुपर्ने हुन्छ ।
कति खर्च गर्ने ?
यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ४० देखि ५० हजार रुपैयाँको रेञ्जमा राम्रै ल्यापटप पाउन सकिन्छ । तर सस्तोभन्दा केही हजार खर्च गरेर राम्रो ल्यापटप खरिद गर्ने कुरामा कन्जुस्याइँ भने सकेसम्म नगरेकै राम्रो ।
किनभने ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने भएका कारण पछिल्लो प्रविधियुक्त ल्यापटप खरिद गर्नु नै बुद्धिमानी हुन्छ ।
प्रोसेसर र र्याम
नयाँ ल्यापटप खरिद गर्दाको समयमा कमसेकम आई फाइभ टुभेल्थ जेनेरेसनको प्रोसेसर वा त्यसभन्दा पनि लेटेस्ट प्रोसेसर होस् भन्नेमा ख्याल गर्नुहोस् । यदि र्यामको कुरा गर्नुहुन्छ भने आजकल कमसेकम ४ जीबी र्याम त न्यूनतम् हुनैपर्छ ।
यसैगरी ल्यापटपमा २५० जीबी वा त्यसभन्दा माथिको स्टोरेज हुँदा राम्रो । ल्यापटपको स्पेसिफिकेसन जति राम्रो भयो ल्यापटपले गर्ने काम त्यति नै उत्तम हुन्छ भन्ने कुरा नबिर्सिनुहोस् ।
ल्यापटपको लुक्स
आजकल स्लिक ल्यापटप एकप्रकारको फेसन बनिसकेको छ । जसको साइज १४ इन्च हुन्छ । यद्यपि सानो आकारका ल्यापटप केही महंगो पर्ने गर्दछन् र १५.६ इन्चको ल्यापटप सस्तो हुने गर्दछ ।
यताउता लैजानका लागि भने ल्यापटप जति सानो भयो त्यति नै सहज हुन्छ । यसबाहेक ल्यापटप खरिद गर्दाको समयमा त्यसको तौलको समेत ख्याल गर्नुपर्ने हुन्छ । पछिल्लो समय आएका ल्यापटप हलुका हुन्छन् भने पुराना ल्यापटप केही गह्रौं हुने गर्दछन् ।
डिस्प्ले
सधैंजसो नन् रिफ्लेक्टिभ स्क्रिनयुक्त ल्यापटप खरिद गर्नुहोस् । त्यसमा कमसेकम ७२० पिक्सेल रेजोलुसनयुक्त स्क्रिन होस् । ल्यापटपमा कति प्रकारका कनेक्टिभिटी पोर्ट उपलब्ध छन् भन्ने कुराको समेत ख्याल राख्नुहोस् ।
सामान्यतया यस्तो ल्यापटप खरिद गर्नेतर्फ सचेत हुनुहोस्, जसमा कमसेकम टाइप ए यूएसबी पोर्ट, एउटा टाइप सी पोर्ट, हेडफोन ज्याक, एउटा ल्यान पोर्ट, माइक्रो एसडी र एक एचडीएमआई पोर्ट होस् ।