काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त केन्द्रमा उपकरण खरिद गर्दा साढे ४० करोड रूपैयाँ बढी भ्रष्टाचार भएको आरोप लगाउँदै पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, केन्द्रकै शाखा अधिकृत हरिबल्लभ घिमिरे, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नवीन कुमार पोखरेल र उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध आइतवार मुद्दा दायर गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रले बोलपत्र नं. SPC/G/NCB-01/077-78 को सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी सरकारी रकमको दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरूकाे संलग्नता भेटिएकाे अख्तियारले जनाएकाे छ ।
प्रतिवादीहरूलाई गैरकानूनी लाभ पुऱ्याउने र नेपाल सरकारलाई ४० कराेड ८५ लाख ७४ हजार ७४० रूपैयाँ हानी पुऱ्याउने बद्नियतले कार्य गरी/गराई ४० कराेड ७५ लाख ५७ हजार ७४० रूपैयाँ भुक्तानी समेत गरे/गराएको पुष्टि भएको अख्तियारले उल्लेख गरेकाे छ ।
यसाे हुँदा विकल पौडेल, सफल श्रेष्ठ र नवीन कुमार पोखरेलको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ) र (च) बमोजिमको कसुर भएकोले निजहरुलाई बिगो ४० कराेड ८५ लाख ७४ हजार ७४० रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी निजहरुबाट भुक्तानी भएको ४० कराेड ७५ लाख ५७ हजार ७४० रूपैयाँ असुल उपर गर्न माग गरिएकाे छ ।
साथै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेले प्रतिवादी विकल पौडेलसँग मिलोमतो तथा योजनामा दुई वटा कार्यक्रममा विनियोजित बजेटलाई एउटै मात्र कार्यक्रममा राखी खर्च गर्नुपूर्व कुनै प्रक्रिया पुरा नगरी एउटै कार्यक्रममा खर्च गरे/गराएको, खरिदका विभिन्न प्रक्रियामा संलग्न भई बोलपत्रसम्बन्धी कागजात स्वीकृत गर्न टिप्पणी पेस गरेको, प्रि-बिड मिटिङमा उपस्थित भएको, बोलपत्र मूल्याङ्कन समितिको रुपमा प्रतिवेदन पेस गरेको र भुक्तानीका लागि टिप्पणी पेस गरेको लगायतका कार्यमा सुरुदेखि प्रत्यक्ष संलग्न भई खरिद नै गर्नु नपर्ने HP Indigo 6K Secure Press Critical IT System खरिद गरी/गराई ४० कराेड ७५ लाख ५७ हजार ७४० रूपैयाँ भुक्तानी समेत गरे/गराएको पुष्टि भएको अख्तियारकाे भनाइ छ ।
म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनले ठेक्का नं. SPC/G/NCB-01/077-78 को Supply, Delivery, Installation and Commissioning of High Security Digital Print Production System खरिद कार्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेतसँग मिलेमतो गरी आफू अनुकूलको स्पेशिफिकेशन तयार गरेको बताइएकाे छ । हुसेनले आफ्नै नाममा दर्ता भएको आईटी ग्लोबल प्रालि तथा अन्य सूचना प्रविधि सम्बन्धी कार्य गर्ने स्थानीय दुई वटा कम्पनी/फर्महरुको दरभाउ माग गर्नु भन्दा केही दिनअघि मात्र सूची दर्ता गरी सोही कम्पनीबाट बढी मूल्यको दरभाउ लिई लागत अनुमान वृद्धि गरेको अख्तियारकाे आरोप छ ।
विकल पौडेलमाथि सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यस्तै अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएको आरोपमा समेत उनी विरुद्ध मुद्दा दायर भएको छ ।