काठमाडौं । ओपनएआईले आफ्नो पछिल्लो एआई मोडेल सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम गर्दै कम्पनीले जीपीटी-४ओ (GPT-4o)नामक नयाँ मोडेल सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यसमा भएको 'O' को अर्थ ओम्नी (Omni) अर्थात् ‘सबै’ हो । यो पहिलेका मोडेलभन्दा छिटो हुने र कुराकानी मानवको जस्तै हुने कम्पनीको दाबी छ ।
जीपीटी-४ओले फोटो बुझेर छलफल गर्ने, भाषा अनुवाद गर्ने र भिडिओको माध्यमबाट भावनाहरूको पहिचान गर्न सक्नेछ । यसमा मेमोरी पनि हुने छ, जसकारण अगाडि गरिएका सबै कुराकानी यसले सम्झन सक्छ । यसले ५० ओटा भाषा सपोर्ट गर्छ ।
च्याटजीपीटीका सबै प्रयोगकर्ताले यस मोडेलमा पहुँच पाउन सक्नेछन् । नि:शुल्क चलाउने प्रयोगकर्ताका लागि भने केही फिचर सीमित गरिने ओपनएआईले जनाएको छ ।
प्रयोगकर्ताले यससँग भिडिओ च्याट समेत गर्न सक्नेछन् । यसमा कोड, गणितका समाधान गर्न सक्ने क्षमता पनि पहिलेका मोडेलभन्दा अझ राम्रो छ ।
कार्यक्रम दौरान ओपनएआईकी टेक्नोलोजी प्रमुख मिरा मुरातीले केही समयअघि सार्वजनिक भएको जीपीटी फोर टर्बो भन्दा यो मोडेल दुई गुणा छिटो भएको बताइन् । तर यसको लागत भने ठीक आधा रहेको उनकाे दाबी छ ।
उनका अनुसार यो टुल अबको केही हप्तामा सबैका लागि उपलब्ध हुने छ । यसका साथै डेभलपरका लागि यसको एपीआई पनि उपलब्ध हुने उनले बताइन् ।
त्यस्तै कम्पनीले हिजैको कार्यक्रममार्फत च्याटजीपीटीको डेस्कटप भर्सन पनि सार्वजनिक गरेको छ ।