close

आईओएस अपडेटसँगै आईफोनमा डिलिट गरिएका फोटो फिर्ता आउने समस्या

टेकपाना टेकपाना

जेठ ३, २०८१ १३:८

आईओएस अपडेटसँगै आईफोनमा डिलिट गरिएका फोटो फिर्ता आउने समस्या

काठमाडौं । आईफोनबाट डिलिट गरिएका डेटा पुनः फिर्ता हुने बग देखा परेको छ । केही आईफोन प्रयोगकर्ताले आईओएस १७.५ अपडेट पश्चात् आफ्नो फोनमा डिलिट गरिएका फोटो (केही निकै पुराना समेत) पुनः देखा पर्न थालेको भन्दै रेडिट थ्रेडमा रिपोर्ट गर्न थालेका हुन् ।

आईओएस बेटा टेस्टरहरूले समेत गत हप्ता यस्तै किसिमको बगसम्बन्धी गुनासो गरेका थिए । सोमबार आएको अपडेट पश्चात् आफ्नो रिसेन्ट एल्बममा पुराना फोटोहरू देखा पर्ने बग आइरहेको गुनासो मानिसहरूले गरेका छन् ।

आईओएसले डिलिट गरिएका फोटो रि-स्टोर गर्ने विकल्प दिंदै आएको छ । तर ३० दिन पश्चात् त्यस्ता फोटोहरू स्थायी रूपमा मेटिएर जाने गर्छन् । थ्रेड सुरुवात गरेका व्यक्तिले आफूले एनएसएफडब्लू फोटोहरू वर्षौं अघि डिलिट गरेका फोटो पुनः फोनमा फिर्ता आएको दाबी गरेका छन् ।

अर्का रेडिट प्रयोगकर्ताले सन् २०१६ देखिका फोटोहरू नयाँ फोटोको रूपमा देखा परिरहेको, तर ती फोटो आफूले कहिल्यै पनि डिलिट नगरेको ठानेको बताएका छन् ।

एउटा अर्को पोस्टमा एक व्यक्तिले दाबी गर्दै भनेका छन् कि करिब ३०० ओटा आफ्ना पुराना फोटोहरू, त्यसमध्येका केही त 'गोपनीयता भङ्ग गर्ने' किसिमका पनि थिए, एप्पलको गाइडलाइन अनुसार आईप्याडबाट डिलिट गरी साथीलाई बेचेपछि पनि देखा परेका छन् ।

वास्तवमा नयाँ 1 र 0 बाइनरीमार्फत पुनर्लेखन नगरेसम्म कम्प्युटर डेटा कहिल्यै डिलिट हुँदैनन्- अपरेटिङ सिस्टमले केबल त्यसको रेफ्रेन्स मात्रै अवरुद्ध पारिदिने गर्छन् । अर्का एक प्रयोगकर्ताले त झन् आफूले कहिल्यै फोन वा आईक्लाउडमा सिंक नगरेका फोटो समेत फिर्ता आएको देखेको बताएका छन् ।

यसबाट डिभाइसकै स्टोरेजबाट डिलिट भएका फोटोहरू उत्पत्ति भइरहेको जस्तो देखिन्छ । एप्पलले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन । यस्तो किसिमको समस्या फोटोको सवालमा मात्रै भएको नभई अपडेट पश्चात् पुराना भ्वाइसमेल समेत देखिएको भन्दै एक व्यक्तिले एक्समा पोस्ट गरेका छन् । कयौं बेटा टेस्टरहरूले यस्तै किसिमको समस्या केही अघि आईओएस बेटामा पाइएको बताएका थिए ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८१ १३:२८