close

अब आँखाले इशारा गरेकै भरमा आईफोन चलाउन सकिने, अरू केके आउँदै छन् नयाँ फिचर ?

टेकपाना टेकपाना

जेठ ६, २०८१ १०:५३

अब आँखाले इशारा गरेकै भरमा आईफोन चलाउन सकिने, अरू केके आउँदै छन् नयाँ फिचर ?

काठमाडौं । एप्पलले अर्को महिना वर्ल्ड वाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) गर्दैछ । याे अवसरमा नयाँ के के आउलान् भनेर प्रविधिप्रेमी पर्खाइमा छन् । यसैबीच केही जानकारी बाहिरिएका छन्, जसमा कम्पनीले डब्लूडब्लूडीसी मार्फत सार्वजनिक गर्ने फिचरका विषयमा चर्चा गरिएको छ ।

कम्पनीले आईओएस १८ सार्वजनिक गर्नेमा दुई मत छैन । यो पटकको अपडेटमा कम्पनीले एक्सेसिबिलिटी फिचरमा धेरै ध्यान दिने देखिएको छ । बाहिरिएका जानकारी अनुसार कम्पनीले उल्लिखित केही नयाँ फिचरहरू थप गर्दैछ: 

आई ट्रयाकिङ फिचर 

नयाँ अपडेटसँगै अब आईफोन आँखाको भरमा नै प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो आईफोन र आईप्याड आँखाको चालको आधारमा प्रयोग गर्न सक्नेछन् ।

अर्थात् तपाईँले कुनै एप ओपन गर्ने, स्क्रिन स्क्रोल गर्न, स्वाइप गर्ने लगायतका काम आँखाबाटै गर्न सक्नुहुनेछ । यसको लागि कुनै अरू हार्डवेयर आवश्यक पर्नेछैन । यो फिचरका लागि कम्पनीले एआई टुल प्रयोग गर्ने बताइएको छ । 

फोनमा नै आवाज महसुस गर्न सकिने 

कम्पनीले ल्याउन लागेको अर्को फिचर हो, म्युजिक ह्याप्टिक । अर्थात् आवाज महसुस गर्न सकिने फिचर । श्रवणशक्ति कमजोर भएका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे ।

यो फिचरले ‘ट्याप्टिक इन्जिन’ नामक फिचर प्रयोग गरेर म्युजिकको बिट थाहा पाउन सकिने गरी भाइब्रेसनहरू प्रयोग गर्नेछ । यो एप्पल म्युजिकमा मात्र लागू हुने बताइएकाे छ । 

भेहिकल मोसन क्युज

यदि तपाईँलाई गाडीमा हिँड्दा गाह्रो हुन्छ भने यसको समाधानका लागि एप्पलले भेहिकल मोसन क्युज फिचर ल्याउँदैछ । अर्थात् प्रयोगकर्ता गाडीमा हिँडिरहेको समयमा हुनसक्ने सम्भावित 'मोसन सिक्नेस'को विषयमा यसले जानकारी दिनेछ ।

तपाईँको आईफोन वा आईप्याडमा तपाईँ गाडीमा यात्रा गरिरहेको समयको थोप्ला थोप्ला स्क्रिनमा देखिनेछ । यी थोप्लाहरू तपाईँको यात्राभर निरन्तर स्क्रिनमा चलिरहनेछन् । यो फिचरलाई तपाईँले म्यानुअल रुपमा सेट गर्न अथवा अटोमेटिक बनाउन सक्नुहुन्छ । 

ब्रेल 

कम्पनीले दृष्टिविहीन प्रयोगकर्तालाई ध्यानमा राख्दै आफ्नो ब्रेल फिचरमा केही नयाँ फिचर थप गर्ने भएको छ ।

नयाँ अपडेटसँगै मल्टि लाइन ब्रेलसँगै इन्पुट र आउटपुट टेबलहरू छनोट गर्न सकिने फिचर उपलब्ध हुनेछ ।  

भर्चुअल ट्रयाकप्याड 

नयाँ ओएस अपडेटसँगै कम्पनीले भर्चुअल ट्रयाकप्याड फिचर थप गर्दैछ । ठूलो स्क्रिन भएको आईप्याडमा यसको उपयोग धेरै हुने अनुमान छ । तपाईँले आफ्नो स्क्रिनमा कतै पनि ट्याप गरेर कर्सर सार्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८१ ११:२१