close

नित्या रञ्जना फन्टले पायो अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्ड

टेकपाना टेकपाना

जेठ १२, २०८१ ९:२१

नित्या रञ्जना फन्टले पायो अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्ड

काठमाडौं । नेपालको क्यालिजात्रा फाउन्डेसन र भारतको एक टाइप कम्पनीले तयार पारेको ‘नित्या रञ्जना’ फन्टले प्रतिष्ठित ‘डी एन्ड एडी एल्लो पेन्सिल’ अवार्ड पाएको छ । मङ्गलबार साउथब्याङ्क सेन्टर लन्डनमा आयोजित कार्यक्रममा उक्त फन्टले ‘टाइप डिजाइन एन्ड लेटरिङ’ विधामा उत्कृष्ट भएर यो पुरस्कार पाएको हो । 

यस फन्टमा नेपाल, भारत र अमेरिकाका व्यक्तिहरू आवद्ध छन् । नूपर दत्य र तथागत विश्वासले डिजाइन गरेको यो फन्टका स्क्रिप्ट कन्सल्टेन्ट आनन्द महर्जन हुन् । डी एन्ड एडीमा विभिन्न पाँच ह्वाइट पेन्सिल, उडन पेन्सिल, ग्रेफाइट पेन्सिल, एल्लो पेन्सिल र ब्ल्याक पेन्सिल हुन्छन् । त्यसमध्ये नित्या रञ्जनाले जितेको एल्लो पेन्सिल सबैभन्दा उत्कृष्ट पुरस्कार हो । 

नित्या रञ्जनाको युनिकोड भर्सन गत ३ चैतमा काठमाडौंमा सार्वजनिक भएको थियो । नित्या रञ्जना स्क्रिप्टका सल्लाहकार महर्जनका अनुसार डी एन्ड एडी जित्ने यो नै नेपालको पहिलो फन्ट हो ।

“एल्लो पेन्सिल अवार्ड जित्नु एड्भर्टाइजिङ र डिजाइनिङको क्षेत्रमा प्रतिष्ठाको विषय र यो धेरै डिजाइनरका लागि ठूलो सफलता पनि हो,” टेकपानासँग कुरा गर्दै महर्जनले भने, “यस्तो पुरस्कार जित्नुले नयाँ पुस्तालाई प्रेरित गर्छ । यससँगै अब यो फन्टको चर्चा, बहस र छलफल बढेकाे छ ।” 

टाइपोग्राफीका क्षेत्रमा दिइने डी एन्ड एडी चर्चित मध्येको एक पुरस्कार हो । ठूला ठूला विज्ञापन एजेन्सी, प्रडक्सन हाउसहरू यसमा सहभागी हुन्छन् । यो अवार्ड सन् १९६२ देखि वितरण गर्न सुरु भएको थियो । पछिल्लो ५०-६० वर्षमा नेपालले यस्तो अन्तर्राष्ट्रिय पुरस्कार जित्न सकेको थिएन । 

योभन्दा अगाडि नित्या रञ्जना फन्टले फन्ट डिजाइनमा टीडीसी अवार्ड पाएको थियो ।

 

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ ९:४३