close

इन्स्टाग्रामका ९४ प्रतिशत महिला इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको शिकार

टेकपाना टेकपाना

जेठ १३, २०८१ १३:१७

इन्स्टाग्रामका ९४ प्रतिशत महिला इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको शिकार

काठमाडौं । इन्स्टाग्रामका ९४ प्रतिशत महिला इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको शिकार भएको एक तथ्याङ्कले देखाएको छ । ट्वीक्सी नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको रिपोर्टले यस्तो तथ्याङ्क देखाएको हो । 

उक्त रिपोर्टका अनुसार महिला इन्फ्लुयन्सरको अकाउन्टमा १० हजार फलोअर बढ्दा उनीहरू डिपफेक पोर्नोग्राफीको शिकार बन्ने जोखिम १५.७ प्रतिशतले बढेको छ । त्यसैले जति बढी फलोअर भए महिला इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको शिकार बन्ने सम्भावना बढ्दै जान्छ । जो व्यक्तिको फलोअर १० करोडभन्दा बढी छन् उनीहरू यसको शिकार हुने सम्भावना ७९ प्रतिशत भएको सो रिपोर्टको दाबी छ । 

विशेषगरी फेसन उद्योगका ८५ प्रतिशत, मनोरञ्जन क्षेत्रका ८२ प्रतिशत, सौन्दर्य क्षेत्रका ८१ प्रतिशत र पत्रकारिता तथा राजनीति क्षेत्रका ७० प्रतिशत महिला इन्फ्युल्सरहरू डिपफेक पोर्नोग्राफीको शिकार हुने गरेको उक्त रिपोर्टमा उल्लेख छ । 

समग्रमा ८४ प्रतिशत सामाजिक सञ्जाल इन्फ्लुयन्सर डिफफेकको शिकार हुन्छन् । त्यसमा पनि ९० प्रतिशत महिला इन्फ्लुयन्सर हुन्छन् भने बाँकी १० प्रतिशत पुरुष इन्फ्लुयन्सर हुने गरेको तथ्याङ्कले देखाएको छ । इन्फ्लुयन्सरको फोटो तथा भिडिओ प्रयोग गरी तयार पारिएको डिपफेक भिडिओमा ४० करोड बढी भ्युज रहेका छन् । यसले नक्कली कन्टेन्टमा सर्वसाधारणको रुचि कति छ भन्ने इंकित गर्छ । र, समयमै सतर्कता अपनाउन सुझाव दिएको छ । 

डिपफेक यो समस्याले सामाजिक सञ्जाल इन्फ्लुयन्सर जो आफूले प्रयोग गर्ने प्लेटफर्ममा निर्भर छन् यसबाट उनीहरू प्रभावित हुन सक्ने देखाएको छ । इन्स्टाग्राम भिज्युअल (फोटो र भिडिओ) मा केन्द्रित हुने भएकाले पनि यसमा भएका इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको निशानामा पर्ने सम्भावना ९४ प्रतिशतभन्दा बढी छ । 

त्यस्तै युट्युबका इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको शिकार हुने सम्भावना ५६ प्रतिशत छ भने एक्समा १२ प्रतिशत छ । 

क्षेत्रको कुरा गर्नुपर्दा अमेरिकाका इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीमा पर्ने जोखिम १० प्रतिशत रहेको छ । भारतका ६ प्रतिशत, ब्राजिल ५ प्रतिशत र इन्डोनेसियाका ३ प्रतिशत इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको शिकार बन्ने जोखिम भएको उल्लेख गरिएको छ । 

१० हजार बढी फलोअर भएका २२ हजार ८४७ सेलिब्रेटी तथा इन्फ्लुयन्सरमा गरिएको अध्ययनलाई विश्लेषण गरेर यो रिपोर्ट सार्वजनिक गरेको हो । विशेषगरी टिकटक, ट्वीच, इन्स्टाग्राम, एक्स र युट्युबका इन्फ्युन्सरमा यो अध्ययन गरिएको थियो । त्यसबाहेक पोर्न वेबसाइटमा भएका ३५ लाख १९ हजार डिपफेक भिडिओलाई विश्लेषण गरेर यो तथ्याङ्क निकालिएको सो रिपोर्टमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ ११:५५