close

बजेटबाट नेपालको आईटी क्षेत्र उत्साहित

टेकपाना टेकपाना

जेठ २०, २०८१ १४:०

बजेटबाट नेपालको आईटी क्षेत्र उत्साहित

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले ल्याएको बजेटलाई लिएर नेपालको आईटी क्षेत्र उत्साहित देखिएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (न्यास आईटी) ले एक विज्ञप्ति जारी गर्दै देशको समवृद्धिका लागि रूपान्तरणकारी क्षेत्रको रूपमा आईटीलाई पहिचान गरेकोमा खुसी व्यक्त गरेको हो ।

सरकारले बजेट मार्फत सूचना प्रविधिलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक, १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने, प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ लाख रोजगारी सिर्जना गर्ने, सरकारी तथा निजी भवन उपयोग गरी आईटी पार्क सञ्चालन गरिने, तीन वर्षसम्म काम गर्न निःशुल्क वर्क स्टेसन उपलब्ध गराइने, सरकारी निकायमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिने, आईटी हब सञ्चालन गर्ने लगायतका विषय बजेटमा समावेश गरिएका छन् ।

"अघिल्ला बजेटको तुलनामा यस वर्षको बजेट आईटी क्षेत्रका लागि निकै सकारात्मक छ । न्यास आईटीले गरेका पैरवीका विषयहरू समेत बजेटमा समावेश गरेकोमा सरकारप्रति कृतज्ञ छौं," संस्थाले भनेको छ ।

"आईटी क्षेत्रको उन्नति र विश्वसँग प्रतिस्पर्धा गर्नका लागि सरकार र अन्य सरोकारवालाहरूसँग सहकार्य गर्न हामी प्रतिबद्ध छौं ।"

बजेटमा समावेश भएका आईटी क्षेत्रसँग सम्बन्धित विषयले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने न्यास आईटीको भिजनलाई अझ थप बल पुग्ने विश्वास समेत व्यक्त गरिएको छ । बजेटमा समावेश गरिएका व्यवस्थालाई सरकारले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि आफूहरूको सधैं तयार रहेको समेत उसले उल्लेख गरेको छ ।

न्यास आईटीका अनुसार यी महत्त्वाकाङ्क्षी लक्ष्य प्राप्त गर्न दीर्घकालीन योजना र बहुसरोकारवालाको सहभागीता महत्त्वपूर्ण हुनेछ । यस बाहेक न्यास आईटीले नेपालमा सूचना प्रविधिको विकासका लागि कर र नीतिगत स्थिरता दिन र अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा सहभागीका लागि सहयोग गर्न पनि माग गरेको छ ।

"नेपाल बाहिर शाखा खोल्नका लागि स्पष्ट व्यवस्था गर्न, बीमा निजी जारी गर्न, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न, प्रवर्द्धनका लागि कूटनीतिक नियोग परिचालन गर्न तथा स्वायत्त आईटी बोर्ड स्थापना गर्न सरकारलाई अनुरोध गर्दछौं," न्यास आईटीले भनेको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ १४:४