close

एम्बिसन गुरुले खुलायो एसईई तयारी कक्षा, २५ सय रुपैयाँमा वर्षभर अनलाइनमार्फत पढ्न पाइने

टेकपाना टेकपाना

जेठ २२, २०८१ १६:२५

एम्बिसन गुरुले खुलायो एसईई तयारी कक्षा, २५ सय रुपैयाँमा वर्षभर अनलाइनमार्फत पढ्न पाइने

 

काठमाडौं । नेपाली ईलर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी कक्षामा भर्ना खुलाएको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाउने गरी एम्बिसन गुरुले यस शैक्षिक सत्रमा सञ्चालन हुने एसईईका लागि तयारी कक्षामा भर्ना खुलाएको हो । 

यस कोर्समा विद्यार्थीले एक पटक दुई हजार ४९९ रुपैयाँ तिरेपछि एम्बिसन गुरुको मोबाइल एपमार्फत एसईई परीक्षा नआएसम्म पढ्न पाउनेछन् । कोर्समा विशेष गरेर अनिवार्य गणित, विज्ञान, सामाजिक विज्ञान, अङ्ग्रेजी, ऐच्छिक गणित लगायतका विषय पढाइ हुनेछ ।  

यस कोर्सलाई विद्यार्थीले तयारी कक्षाका रुपमा लिनसक्ने एम्बिसन गुरुका एकेडेमिक डाइरेक्टर प्रकाश पाण्डेले बताए । विद्यार्थीले पाठ रट्नेभन्दा बुझ्न जरूरी भएको भन्दै उनले यसका लागि एम्बिसन गुरुमा उपलब्ध भिजुअल सामग्री सहयोगी हुने उनको तर्क छ ।

सामान्यत: १० कक्षामा अध्ययनरत विद्यार्थी अधिकांश समय आफ्नो विद्यालयमा नै बिताउने गर्छन् । सो कुरालाई ध्यानमा राखेर एसईई तयारी कक्षा प्रत्येक दिन बेलुकी ६ बजेपछि चलाइने उनले बताए । ‘‘विद्यार्थीहरूले उक्त कक्षाको रेकर्डेड भिडिओ पनि पाउँछन् । यसले गर्दा विद्यार्थीले आफ्नो आवश्यकता अनुसार पाठलाई दोहोराएर पढ्न सक्छन्,’’ ‍उनले भने ।

त्यस्तै एपमा भएको ‘आस्क’ फिचर मार्फत विद्यार्थीले शिक्षकलाई नहिच्किचाई पढाइ सम्बन्धी कुनै पनि प्रश्न सोध्न सक्ने उनले बताए । यसले गर्दा विद्यार्थीको आधार बलियो हुने उनको दाबी छ ।

साथै अभिभावकहरूले आफ्नो सन्तानको पढाइबारे एम्बिसन सुरुको ‘प्यारेन्ट्स एप’मार्फत सम्पूर्ण जानकारी लिनसक्ने उनले सुनाए ।  

एम्बिसन गुरुले गत वर्षदेखि एसईई तयारी कक्षा सञ्चालन गरेको थियो । सो वर्ष ७७ जिल्लाबाट अङ्ग्रेजी र नेपाली दुवै माध्यममा गरी कुल १० हजार ११ जना विद्यार्थी भर्ना भएका थिए । ती मध्ये कुल एक हजार विद्यार्थीले एम्बिसन गुरुको छात्रवृत्ति पाएका थिए । यसपटक पनि गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पाण्डेले जानकारी दिए ।

उनका अनुसार यसपटक कोर्समा वस्तुगत प्रश्नको समाधान पनि समावेश हुने छ । यसले विद्यार्थीलाई अहिलेदेखि नै एसईईको तयारी गराउने उनकाे विश्वास छ । 

“कोर्समा भर्ना भएका विद्यार्थीहरूबीच केही महिनाको अन्तरमा वास्तविक एसईई परीक्षा जस्तैं सञ्चालन गर्छौं,” उनले भने, “तीन घण्टाको परीक्षा सकिसकेपछि उत्तिर पुस्तिकाको फोटो खिचेर विद्यार्थीले एपमा अपलोड गर्छन् । त्यसपछि विद्यार्थीको कमीकमजोरी कहाँ के-कस्तो छ, त्यो प्रतिक्रिया दिन्छौं ।” 

त्यस्तै यसै पटकदेखि अभ्यास पुस्तिका र एपलाई जोड्ने योजना पनि रहेको उनले बताए । उनका अनुसार अभ्यास पुस्तिका क्यूआरमा आधारित हुनेछ, जसलाई विद्यार्थीले एम्बिसन गुरुमार्फत सोझै लिन सक्नेछन् । उक्त किताबमा आधारित भएर अभ्यास गर्दै जाँदा कुनै ठाउँमा बुझेनन् भने क्यूआर स्क्यान गरेर विद्यार्थीले सम्बन्धित समस्याको समाधान पाउन सक्ने उनी बताउँछन् ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १६:२५