काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेसन र ई-लर्निङ प्लेटफर्म एम्बिसन गुरुबिच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार दुई पक्षीय सम्झौता भएको हो ।
यस अनुरूप शिक्षण पेशा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धिका साथै उनीहरूको सशक्तीकरण गर्न विभिन्न प्रशिक्षण पाठ्यक्रमहरू तयार गरी कक्षा सञ्चालन गरिनेछ ।
यी पाठ्यक्रमहरू शैक्षिक सीप वृद्धि गर्न, मूल्याङ्कन मापदण्ड परिष्कृत गर्न र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएको उल्लेख छ । शिक्षकहरूलाई नवीनतम उपकरण र विधिहरूसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्य सहित दुई शैक्षिक संस्थाहरू बीच सम्झौता भएको हो ।
काठमाण्डौं विश्वविद्यालयका एसोसिएट डीन प्रकाश भट्टराईले समग्र देशको शैक्षिक उन्नयनलाई केन्द्रमा राखी विद्यालयहरूको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्ने उद्देश्यका साथ यो सहकार्य गरिएको बताए । "काठमाडौं विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय र सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलाप मार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ," उनले भने ।
यो सहकार्य अन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले आवश्यकता अनुरूप मूल्याङ्कन उपकरणहरूको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन र शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाको खोजी जस्ता कार्यहरू हुनेछन् । यसका साथै व्यावसायिक शिक्षक प्रशिक्षकहरूको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास, र शिक्षक तथा नेतृत्वकर्ताहरूको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गरिने उल्लेख छ ।
यस कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट फरक फरक समुदायहरूको सहभागिताको पनि सुनिश्चितता गर्ने विश्वास राखिएको छ । यस्तै एम्बिशन गुरुले भने कार्यक्रमहरूमा संलग्न सबै आर्थिक व्यवस्थापन, शिक्षकहरूलाई पाठ्यक्रम वा कार्यशालाहरूमा सहभागी गराउने, कार्यशाला र सत्रहरूको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्था, शिक्षक र प्रशिक्षकहरूका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना, र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिने एम्बिशन गुरुका एकेडेमिक डाइरेक्टर प्रकाश पाण्डेले जानकारी दिए ।
यस सहकार्यले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक सुधार आउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।