close

मोतीबाट निस्केको धातुबाट बनेको बेन्को फोन नेपाल आउँदै, १८ महिनाको अन्तर्राष्ट्रिय वारेन्टी

टेकपाना टेकपाना

जेठ २८, २०८१ ९:५३

मोतीबाट निस्केको धातुबाट बनेको बेन्को फोन नेपाल आउँदै, १८ महिनाको अन्तर्राष्ट्रिय वारेन्टी

काठमाडौं । बेन्कोको नयाँ स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुने भएको छ । अम्बे मोबाइल्स प्राइभेट लिमिटेडले एसवन फ्यामिली लाइनअप अन्तर्गतको बेन्को एस वन प्लस नेपाली बजारमा ल्याउन लागेको हो ।

बेन्कोको नयाँ फोनमा ९० हर्जको रिफ्रेश रेटसहितको ६.८ इन्च फुलएचडी प्लस डिस्प्ले रहेको छ । जसमा बेन्कोले नै विकास गरेको यूआई फिचर स्मार्ट विन्डो हुने बताइएको छ। पाँच हजार एमएएचको ब्याट्री भएको यो फोनले ३३ वाटको टाइप सी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले गर्दा फोन आधा घण्टामा ५० प्रतिशतसम्म र एक घण्टामा फुल चार्ज गर्न सकिने दाबी कम्पनीले गरेको छ ।

यसको पछाडिको भागमा मुख्य र म्याक्रो गरी दुई ओटा क्यामेराको सेटअप रहेको छ । जसमा क्रमश: ४८ र २ मेगापिक्सेलका क्यामेरा छन् । यसका साथै फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ । जसलाई कम्पनीले एआई क्यामेराको नाम दिएको छ । 

फोन ८+१२८ र  ८+२५६ जीबी गरी दुई ओटा स्टोरेज भेरियन्टका साथ नेपाली बजारमा आउने बताइएको छ । यी दुवै भेरियन्टमा ८ जीबीसम्म भर्चुअल र्‍याम बढाउन मिल्छ । कम्पनीले यसमा युनिसक टी ६१६ ओक्टाकोर प्रोसेसर राखेको छ । 

त्यस्तै फिङ्गरप्रिन्ट र फेसलक सपोर्ट गर्ने यो फोनम एन्ड्रोइड १३ सपोर्ट गर्छ । फोनमा दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी कार्डका लागि ठाउँ दिइएको छ । फोरजीसम्म सपोर्ट रहेको बेन्कोको यो स्मार्टफोन मुन ह्वाइट, डार्क ग्रे र नाइट पर्पल गरी तीन रङमा १ असारदेखि बजारमा उपलब्ध हुनेछ । 

ती मध्ये पनि मुन ह्वाइट रङको फोनको पछाडिको भाग वास्तविक मोती बनाएपछि बाँकी रहेको पदार्थबाट बनाइएको कम्पनीले जनाएको छ । त्यसले फोनलाई चम्किलो र आकर्षक बनाउने तथा हरेक फोनको डिजाइन भिन्न हुने कम्पनीको भनाइ छ ।

त्यस्तै यसमा कम्पनीले १८ महिनाको अन्तरदेशीय वारेन्टी उपलब्ध गराउने छ । त्यसो हुँदा नेपालमा किनेको फोन विदेशमा रहेका बेन्कोको रिपेयर सेन्टरमार्फत पनि मर्मत गराउन सकिने छ । अहिलेसम्म कम्पनीले यो फोनको मूल्य भने खुलाएको छैन । तर यो बजेट फोन हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ ९:५३