close

आईओएस १८ घोषणा, केके छन् नयाँ फिचर ?

टेकपाना टेकपाना

जेठ २९, २०८१ १४:६

आईओएस १८ घोषणा, केके छन् नयाँ फिचर ?

काठमाडौं । एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२४ मा आईओएस १८ को घोषणा गरेको छ । एप्पलले आईफोन अपरेटिङ सिस्टमको नयाँ भर्सनको घोषणा गरेको हो । यस भर्सनमा एप्पलले एआईका नयाँ फिचर ल्याउने तथा विभिन्न फिचरहरू थपिने जनाएको छ । अहिले यसको बेटा भर्सन उपलब्ध छ । सम्भवत: यो वर्षको अन्त्यसम्ममा आईओएस १८ उपलब्ध हुने एप्पलले जनाएको छ ।

आईओएसको नयाँ भर्सनमा पुन: डिजाइन गरिएको होमस्क्रिन, कस्टमाइज गर्न सकिने कन्ट्रोल सेन्टर, एप लक तथा लुकाउन सकिने तथा स्याटलाइटमार्फत टेक्स्ट मेसेज पठाउन सकिने लगायतका फिचर आउने छन् । आज हामी आईओएस १८ मा उपलब्ध हुने विभिन्न फिचरबारे चर्चा गर्ने छौं: 

कस्टमाइजेसनको विकल्प

आईओएस १८ मा एप्पलले कस्टमाइजेसन विकल्प दिने भएकाे छ । प्रयोगकर्ताले होमस्क्रिन, लकस्क्रिन र कन्ट्रोल प्यानलमा आफूअनुकूल परिमार्जन गर्न सक्ने एप्पलले जनाएको छ । यससँगै प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एप र विजेट्सहरूलाई राख्न सक्नेछन् । 

फोटो एपमा नयाँ डिजाइन

एप्पलका अनुसार फोटोज एपमा अहिलेसम्मकै सबैभन्दा धेरै परिमार्जन गरिएको छ । प्रयोगकर्ताले थिम, व्यक्ति, यात्रा आदिका आधारमा प्रयोगकर्ताले फोटो ब्राउज गर्न सक्नेछन् । त्यस्तै आफूलाई मन परेको फोटो पिन गर्न तथा दैनिक मा हाइलाट आउने बताइएको छ ।

एप्पल इन्टेलिजेन्स 

एप्पलले आफ्ना डिभाइसहरूमा ल्याउने एआई फिचरहरूलाई 'एप्पल इन्टेलिजेन्स' नाम दिइएको छ । अहिले यस अन्तर्गतका सबै एआई फिचरहरू आईफोन १५ प्रो, आईफोन १५ प्रो म्याक्समा बेटाका रूपमा आउने छन् । यस अन्तर्गत जेनमोजी, ईमेल प्लेग्राउन्ड, सिरीमा च्याटजीपीटी जस्ता फिचर आउनेछन् ।

स्याटलाइटमार्फत मेसेज 

आईओएस १८ मा स्याटलाइट मेसेजिङ सपोर्ट हुने भएको छ । त्यसो हुँदा वाई-फाई तथा सेलुलर कनेक्सन नहुँदा पनि प्रयोगकर्ताले स्याटलाइटमार्फत आईमेसेजमा कुराकानी गर्न सक्नेछन् ।

यससँगै आईमेसेजमा पनि नयाँ अपडेट आउने भएको छ । अब प्रयोगकर्ताले बोल्ड, इटालिक, अन्डरलाइन जस्ता फिचर प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै अब आईमेसेजमा आरसीएस मेसेज पनि सपोर्ट हुनेछ ।

सफारी अपडेट

एप्पलले आफ्नो सर्च इन्जिन सफारीमा समेत नयाँ अपडेट ल्याउने भएको छ  । यसअन्तर्गत वेब पेजको सारांश गर्ने, रिडिङ मोड सुधार गर्ने जस्ता नयाँ फिचर आउने छन् । 

पासवर्ड एप 

एप्पलले आफ्नो किचेन (KeyChain)मा आधारित भएर नयाँ पासवर्ड एप उपलब्ध गराउने भएको छ । आईक्लाउड किचेन फरक-फरक डिभाइसमा पासवर्ड र अकाउन्ट सिन्क गर्न प्रयोग गरिँदै आएको एप्पल सर्भिस हो । अब यस नयाँ एपमार्फत पासवर्ड, पासकी, वाईफाई पासवर्ड, भेरिफिकेसन कोड लगायत व्यवस्थापन गर्न सकिने छ ।

एप्पल म्याप्स र गेम मोड 

आईओएस १८ मा एप्पलले आफ्नो म्याप्स एपमा पनि अपडेट गर्ने भएको छ । यसअन्तर्गत  टोपोग्राफिक म्याप्स, हाइकिङ रुट थपिने छन् । त्यस्तै कस्टम रुट अफलाइन मोडमा पनि सेभ गर्न सकिने भएको छ । यसका साथै एप्पलले गेम मोडमा सुधार गर्ने भएको छ । विशेष गरेर फ्रेम रेट र वायरलेस एक्सेसरिजमा सुधार हुनेछन् ।

अन्य एपमा अपडेट

माथिका मुख्य अपडेटबाहेक एप्पलले अन्य एपहरूमा समेत परिवर्तन गर्ने भएको छ । जसमा एप्पल म्युजिक, एप्पल न्युज, क्यालकुलेटर, क्यालेन्डर, कार प्ले, नोट्स लगायतका एपमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १४:४७