close

रेफ्रिजेरेटर अर्थात फ्रिज सरसफाइ गर्ने तरिका

टेकपाना टेकपाना

जेठ २९, २०८१ १७:१८

रेफ्रिजेरेटर अर्थात फ्रिज सरसफाइ गर्ने तरिका

 

काठमाडौं । आजभोलि नेपाली भान्साघरमा विभिन्न विद्युतीय सामग्रीहरू प्रयोग हुन थालेका छन् । तिनै मध्येको एक हो, रेफ्रिजेरेटर अर्थात् फ्रिज । सामान्यत: खानेकुरालाई सुरक्षित तरिकाले राख्न फ्रिज प्रयोग गरिन्छ । 

भान्सामा लगातार प्रयोग हुने उपकरणमा फ्रिज पनि एक हो । विभिन्न प्रकारका खानेकुरा राखिने भएकाले लामो समयसम्म सफा ‍नगर्दा फ्रिज ब्याक्टेरियाहरूको घर बन्न सक्छ । यदि सही तरिकाले सरसफाइ गरिएन भने फ्रिज नै बिग्रन सक्छ । 

आज हामी तपाईंलाई फ्रिज सफा गर्ने सही तरिकाबारे बताउँदै छौं;

 

दैनिक रूपमा फ्रिज पुछ्ने

दैनिक रूपमा ह्यान्डल र बाहिरी भाग पुछ्ने गर्दा तुलनात्मक रूपमा फ्रिज धेरै सफा रहन्छ । यसले कीटाणु र ब्याक्टेरियालाई फ्रिजमा जमेर बसिरहन दिंदैन । यस क्रममा तपाईंले वाटर डिस्पेन्सर, ह्यान्ड लगायतका भाग सफा गर्न सक्नुहुन्छ ।

 

बचेका सबै खानेकुरा हटाउने

विशेषत: दैनिक रूपमा पकाइने तरकारीहरू, उब्रेका खानेकुराहरू फ्रिजमा राख्ने गरिन्छ । त्यसो हुँदा सागपातका टुक्रा, खानेकुराका टुक्राटाक्री फ्रिज भित्रै रहने गर्छन् । लामो समयसम्म सफा गरिएन भने तिनले फ्रिजलाई दुर्गन्धित बनाउँछन् । यसका साथै कीटाणु र ब्याक्टेरिया पनि त्यसैबाट फैलिन सक्छन् । यसकारण फ्रिजमा राखेका चाँडै गल्ने र खानेकुरा लगायतका सामग्रीको केही अवशेष पनि फ्रिजमा छाड्नु हुन्न ।

 

फ्रिजमा राखेका सबै सामानलाई हप्तामा एक पटक हेर्ने  

कम्तीमा हप्तामा एक दिन तपाईंले फ्रिजमा राखेका सबै सामान हेर्नुपर्ने हुन्छ । त्यसो हुँदा फ्रिजमा कुन सामान कति समयदेखि राखिएको छ भनेर तपाईंले थाहा पाउनुहुन्छ । किनकी कतिपय अवस्थामा फ्रिजमा राखेको कुरा बिर्सिने हुन्छ । त्यस क्रममा यदि चाँडो बिग्रेने सामान लामो समयदेखि राखिएको छ भने तुरुन्त हटाउनुहोस् । 

 

वाटर डिस्पेन्सर लगायतका भित्री भाग राम्ररी सफा गर्ने 

फ्रिजको बाहिरी भाग मात्र पुछेर फ्रिज सफा हुन सक्दैन । तपाईंले फ्रिजमा भएको वाटर डिस्पेन्सरलाई पनि सफा गर्न जरुरी हुन्छ । कहिले काहिं तपाईंले फ्रिज भित्र भएका आन्तरिक ‍पार्टपुर्जा पनि सफा गर्नुपर्ने हुन्छ । यसमा फ्रिजका ट्रेदेखि ड्रयर सबैलाई राम्ररी सफा गर्ने काम पर्छन् । त्यस्तै तपाईंले फ्रिजको वाटर डिस्पेन्सरलाई टुथ ब्रश र भिनेगरमा आधारित क्लिनरले सफा गर्न सक्नुहुन्छ । यसका साथै तपाईंले फ्रिजको वाटर फिल्टर वर्षमा एक पटक फेर्न सक्नुहुन्छ ।

 

वर्षमा केही पटक फ्रिजलाई पूरै सफा गर्ने 

सामान्य रूपमा दैनिक सफा गर्नेबाहेक तपाईंले वर्षमा केही पटक फ्रिजलाई मज्जाले सफा गर्न सक्नुहुन्छ । यस क्रममा फ्रिजका केही भाग फेर्नेदेखि त्यहाँ राखिएका पूरै सामान हटाएर सफा गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले फ्रिजका भित्री भाग व्याक्टेरिया रहित वाइपरले सफा गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १७:१८