close

विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर, अन्य कम्पनीलाई समेत सेवा दिने योजना

टेकपाना टेकपाना

जेठ ३०, २०८१ १६:३८

विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर, अन्य कम्पनीलाई समेत सेवा दिने योजना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् ।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर रहेका छन् ।

डेटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डेटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न 'डिजिटल एनईए' कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो हो । डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायतका सबै डेटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताए । घिसिङले डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गरे ।

उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरको रुपमा सञ्चालन गरिने छ ।  

सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्तहरू पूरा गर्न आवश्यक ब्याककप सहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ ।

अविछिन्न विद्युत् आपूर्तिका लागि वहुवैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएकाे छ । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ ।

३०० केभीए क्षमताका दुई थान मोड्युलर यूपीएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर  लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरणहरू प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डेटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको  अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डेटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरू खटाइएको छ ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन  र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरू जोडिने छन् ।

केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय  गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लि.सँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४४