close

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ कामदारको मृत्यु

टेकपाना टेकपाना

असार १०, २०८१ १७:५३

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ कामदारको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक लिथियम ब्याट्री कारखानामा सोमबार (आज ) आगलागी हुँदा २२ जना कामदारको मृत्यु भएको छ । राजधानी सियोलको दक्षिण पश्चिममा अवस्थित औद्योगिक क्लस्टर ह्वासेओङमा ब्याट्री निर्माता एरिसेल (Aricell) ले चलाइरहेको कारखानामा आगलागी भएको हो । 

समाचार संस्था रोयटर्सका अनुसार छ घण्टा बढी समयसम्म नियन्त्रण बाहिर रहेको आगलागीका कारण २२ कामदारको मृत्यु भएको छ । जसमध्ये १८ जना चिनियाँ र एक जना लाओसका नागरिक रहेका छन् । बाँकीको भने राष्ट्रियता खुल्न बाँकी रहेको बताइएको छ । 

गोदाममा रहेको ब्याट्री सेल विस्फोट हुँदा कारखानामा आगलागी भएको अनुमान गरिएको छ । त्यसमाथि निकेल जस्ता ब्याट्री सामग्रीहरू अति प्रज्वलनशील हुने भएकाले पनि आगो निभाउन समय लागेको जनाइएको छ । 

सन् २०२० मा स्थापित एरिसेलले सेन्सर तथा रेडियो उपकरणका लागि लिथियम ‍ब्याट्री बनाउँदै आएको छ । दक्षिण कोरियाको शेयर बजारमा सूचीबद्ध नभएको यस कम्पनीमा हाल करिब ४८ कर्मचारी कार्यरत रहेको रोयटर्सले लेखेको छ ।

दक्षिण कोरियालाई विद्युतीय सवारी साधनका लागि अत्यावश्यक लिथियम आयन ब्याट्रीको प्रमुख उत्पादक मानिन्छ । तर विगतमा भएका यस्तै प्रकारका औद्योगिक दुर्घटनाका कारण सयौंले ज्यान गुमाइसकेका छन् । विशेष गरेर लापरवाहीका कारण यस प्रकारको घटना हुने गरेको पाइएको छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १८:३