close

‘तारा एयरको विमान सम्पर्क विहीन’ भन्दै सामाजिक सञ्जालमा भाइरल समाचार ‘फेक’

टेकपाना टेकपाना

असार १७, २०८१ १५:४८

‘तारा एयरको विमान सम्पर्क विहीन’ भन्दै सामाजिक सञ्जालमा भाइरल समाचार ‘फेक’

काठमाडौं । आज दिउँसोदेखि सामाजिक सञ्जालमा एकाएक भाइरल तारा एयर दुर्घटना सम्बन्धी समाचार मिथ्या भएको पाइएको छ । ‘तारा एयरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क विहीन’ विषयक समाचार झुटो पाइएको हो । 

यस बारेमा तार एयरले विज्ञप्ति नै जारी गरेर भ्रामक तथा भ्रमपूर्ण खबर फैलाइएको स्पष्ट पारेको छ । “केही अनलाइन पत्रिका तथा गलत मनसायका व्यक्तिले बदनियतपूर्वक सामाजिक सञ्जालमा … गलत समाचार तथा पोस्टहरू गरिए‌को पाइएको छ,” कम्पनीको विज्ञप्तिमा लेखिएको छ ।

“उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकोले कृपया यस्ता गलत र भ्रमपूर्ण समाचारका पछि नलाग्न सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरिन्छ ।”

त्यस्तै कम्पनीका प्रमुख सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले टेकपानासँगको कुराकानीमा पोखरामा आफ्नो जहाज नै नभएको बताए । उनका अनुसार अहिले कम्पनीसँग भएका तीन जहाजमध्ये दुई ओटा काठमाडौं र एउटा नेपालगञ्जमा छ । 

यसका साथै उक्त मार्गमा बर्खा लागेकाले जुन महिनाको दोस्रो सातादेखि सेवा नै स्थगित गरिएको समेत उनले बताए । अब गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्ने विरुद्ध कानुनी कारबाही अगाडी बढाउने उनको भनाई छ । 

यसका लागि कम्पनी साइबर ब्युरो तथा प्रेस काउन्सिलमा जाने तयारी रहेको छ । 

 

पछिल्लो अध्यावधिक: असार १७, २०८१ १५:४८