close

नग्न जस्तै तस्वीर बाहिरिएपछि जापानी ओलम्पिक खेलाडीलाई इन्फ्रारेड क्यामेराबाट बच्ने कपडा

टेकपाना टेकपाना

असार १९, २०८१ १३:४८

नग्न जस्तै तस्वीर बाहिरिएपछि जापानी ओलम्पिक खेलाडीलाई इन्फ्रारेड क्यामेराबाट बच्ने कपडा

काठमाडौं । आउँदो अगस्टमा हुने पेरिस समर ओलम्पिक २०२४ मा जापानी खेलाडीहरूले इन्फ्रारेड क्यामेराबाट बच्ने कपडा लगाउने भएका छन् । पोर्न सम्बन्धी केही वेबसाइटमा खेलाडीको नग्न जस्तै तस्वीर बाहिरिएपछि जापानले भलिबल, ट्र्याक एन्ड फिल्डसहितका विधाका खेलाडीलाई विशेष प्रकारको फ्याब्रिकबाट बनाइएको कपडा उपलब्ध गराउने भएकाे हो ।

यस कपडाले ‘स्टेल्थ एयरक्राफ्ट’ (stealth aircraft) जसरी काम गर्ने बताइएको छ । स्टेल्थ एयरक्राफ्टले राडार सिग्नलहरूलाई स्रोत तिर नै फर्काएर पहिचान लुकाउन मद्दत गर्छ । त्यसरी नै यस कपडाले इन्फ्रारेड प्रकाशलाई ‘एब्जर्भ’ गरी क्यामेरा र सेन्सरसम्म पुग्न नदिएर खेलाडीलाई बचाउने बताइएको छ ।

कतिपय इन्फ्रारेड सेन्सर भएका क्यामेराले नाङ्गो आँखाबाट देख्न नसकिने कुराहरू खिच्न सक्छ । यसको एउटा उदाहरण वनप्लस ८ प्रोमा भएको फोटोक्रोम फिल्टर हो । यसो हुँदा पातलो कपडा लगाएका व्यक्तिहरूको भित्री वस्त्रले ढाकेको शरीरको भाग क्यामेराले कैद गर्न सक्छ ।

यही विषयलाई लिएर सन् २०२० मा खेलाडीहरूले जापानी ओलम्पिक कमिटीमा गुनासो गरेका थिए । त्यसपछि कम्पनीहरू मिजुनो, सुमितोमो मेटल माइनिङ र क्योडो प्रिन्टिङले यस प्रकारको नयाँ कपडा विकास गर्न थाले ।

यस कपडा एथलेटिक खेलाडीहरूलाई प्रयोग गर्ने अन्य कपडा जस्तै हुने बताइएको छ । साथै नग्न जस्तै देखिने खेलाडीहरूको तस्वीर खिच्नबाट समेत बचाउने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:४८