close

पोर्न हेरेको भन्दै ईमेलमार्फत धम्की दिई गलत लिङ्कमा क्लिक गराउने धन्दामा नक्कली प्रहरी

टेकपाना टेकपाना

असार १९, २०८१ १८:१८

पोर्न हेरेको भन्दै ईमेलमार्फत धम्की दिई गलत लिङ्कमा क्लिक गराउने धन्दामा नक्कली प्रहरी

 

काठमाडौं । नेपाल प्रहरीको आधिकारिक लोगो, नाम र सहीछाप दुरूपयोग गरी ईमेलमार्फत विभिन्न सर्वसाधारणलाई धम्की दिने गरेको घटना बाहिरिएको छ । बुधबार एक सूचना जारी गर्दै नेपाल प्रहरीले यस्ता किसिमका नक्कली ईमेलमा नझुक्किन सचेत गराएको छ ।

यो घटनामा सबैभन्दा पहिले सर्वसाधारणलाई एउटा ईमेल आउँछ । सो ईमेलमा नेपाल प्रहरीको लोगो, नाम, छाप, प्रहरी प्रमुखको नाम राखिएको हुन्छ । र, त्यसमा तपाई‌ंले आफ्नो आईपी एड्रेस प्रयोग गरी चाइल्ड पोर्नोग्राफी, साइबर पोर्नोग्राफी र चाइल्ड क्राइम सम्बन्धी सामग्री प्रयोग गरिरहनु भएको छ भन्ने लेखिएको हुन्छ ।

“तपाईंले त्यस्ता सामग्री प्रयोग गरिरहनु भएको प्रमाण हामीसँग रहेकाले ७२ घण्टाभित्र यस सम्बन्धी जवाफ लेखी पठाउनुहोला, अन्यथा कारबाही गरिने छ,” लेखिएको हुन्छ ।

यस्तो प्रकारको ईमेल तथा पत्र नेपाल प्रहरीबाट सम्प्रेषित नभएको प्रहरीले जनाएको छ । “र अफवाह फैलाउने ईमेलको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी गराउँदछौं,” प्रहरीले सूचनामा लेखेको छ ।

साथै, यस किसिमको ईमेललाई रिप्लाइ नगर्न तथा संलग्न भएका लिङ्कमा क्लिक नगर्न प्रहरीले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८१ १८:१८