काठमाडौं । मधेश प्रदेश सरकारको बजेटमा गडबड गर्न सिस्टम नै ह्याक भएको भन्दै छानबिनका लागि माग उठेको छ । आइतबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै सांसद एवं जसपा नेपालका नेता राजकुमार गुप्ताले यस्तो माग राखेका हुन् ।
सरकारले नै सिस्टम ह्याक भएको स्वीकारेको अवस्थामा छानबिन समिति बनाई दोषीलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
“बजेट निर्माणको सन्दर्भमा सरकारद्वारा तत्कालीन अर्थमन्त्री बजेट निर्माण गर्ने सिस्टम ह्याक भई गडबडी भएको छ,” बैठकमा बोल्दै सांसद गुप्ताले भने, “यो सरकारले पनि स्वीकार गरेको छ । स्पष्ट रूपमा हाम्रो माग के छ भने यसका लागि छानबिन समिति बनाऔं । र, सही ढङ्गले जाँच गरी दोषी उपर कारबाही गरौं ।”
बजेटमा गडबडी भएको स्वीकार भइसकेको अवस्थामा त्यसबाट उचित निष्कर्ष निकाली आफूहरूको माग सम्बोधन गर्नुपर्ने उनकाे भनाइ छ । “प्रत्येक निर्वाचन क्षेत्रमा समान रूपमा बजेट विनियोजन होस् भन्ने हामी सबैको माग हो,” गुप्ताले भने, “बजेटमा जुन गडबडी भएको छ त्यसलाई सम्बोधन गरेर लैजाऔं ।”