close

दिमागमा न्युरालिङ्क चिप राखेर मान्छेलाई ‘सुपर पावर’ दिन चाहन्छन् एलन मस्क

टेकपाना टेकपाना

असार २७, २०८१ १७:३५

दिमागमा न्युरालिङ्क चिप राखेर मान्छेलाई ‘सुपर पावर’ दिन चाहन्छन् एलन मस्क

काठमाडौं । अर्बपति उद्यमी एवं न्युरालिङ्कका संस्थापक एलन मस्कले निकट भविष्यमा मान्छेलाई ‘सुपर पावर’ दिन चाहेको बताएका छन् । बुधबार एक्सको लाइभस्ट्रिममा बोल्दै मस्कले यस्तो योजना सुनाएका हुन् । 

न्युरालिङ्कको ह्यान्डलबाट प्रसारण गरिएको लाइभमा मस्कले हालसम्म हासिल भएका प्रगति र आगामी योजना उल्लेख गरे । न्युरालिङ्कले मानव मस्तिष्कमा प्रत्यारोपण गर्ने चिपमा स-साना तारहरू राखिएका छन् । ती तारमा इलेक्ट्रोड (सेन्सर) समावेश गरिएको हुन्छ । त्यही इलेक्ट्रोडले नै मस्तिष्कको गतिविधि निगरानी गर्ने र मस्तिष्कलाई नियन्त्रण गर्न इलेक्ट्रिक सिग्नल पठाउने काम गर्छ । 

मस्कका अनुसार सुरुवाती चरणमा कम्पनीले न्युरालिङ्क चिप प्रत्यारोपणका लागि पक्षघात भएका वा न्युरोसम्बन्धी समस्या भएका बिरामीलाई प्राथमिकतामा राखेको छ ।

न्युरालिङ्कको चिप प्रत्यारोपण गर्ने पहिलो व्यक्ति नोल्यान्ड अर्बाउ हुन् । उनको दिमागमा गत जनवरीमा चिप प्रत्यारोपण गरिएको थियो । विभिन्न पडकास्टमा बोल्दै नोल्यान्डले आफ्नो अवस्था पहिलेको तुलनामा सुधार हुँदै गइरहेको बताएका छन् । 

मस्कका अनुसार भविष्यमा यो प्रविधि बिरामी नभएका व्यक्तिले पनि प्रयोग गर्न पाउने छन् । न्युरालिङ्क प्रविधिले मान्छेलाई साइबरनेटिक सुपरपावर दिने मस्कको विश्वास छ । विशेषगरी शरीरका अङ्ग गुमाएका बिरामीलाई टेस्लाको ह्युमोनाइड रोबोटका हात वा खुट्टा प्रत्यारोपण गर्ने र मस्तिष्कमा चिप प्रत्यारोपण गराउने उनको योजना छ । 

मस्कका अनुसार दोस्रो व्यक्तिमा न्युरालिङ्कको चिप प्रत्यारोपण गर्ने काम केही दिनमै सुरु हुनेछ । चिप प्रत्यारोपण गर्न लागिएका बिरामीमा अन्य स्वास्थ्य समस्या देखिएपछि जुन महिनामै सम्पन्न गर्ने भनेको प्रत्यारोपणको काम पछि सरेको हो । 

त्यस्तै न्युरालिङ्कले अर्को चिप पनि विकास गर्न थालेको छ । पहिलो चिपको तुलनामा दोस्रो चिपमा कम इलेक्ट्रोडहरू हुनेछन् । मस्कका अनुसार अहिले न्युरालिङले प्रयोग गरिरहेको चिपमा १६ ओटा इलेक्ट्रोडसहित ६४ ओटा थ्रेड रहेका छन् । अर्को डिभाइसमा भने १२८ ओटा थ्रेड र आठ ओटा इलेक्ट्रोड हुनेछन् । त्यस्तै नयाँ चिपको ब्यान्डविथ पनि दोब्बरले बढ्नेछ भने सैद्धान्तिक रूपमा पहिलो चिपभन्दा दोस्रो चिप बढी शक्तिशाली हुनेछ ।

अबको केही वर्षभित्र हजारौं बिरामीमा चिप प्रत्यारोपण गर्ने कम्पनीको लक्ष्य छ । सुरुवाती अवस्थामा भने जोकोहीले चिप प्रत्यारोपण गर्न नपाउने मस्कले प्रष्ट पारेका छन् । “तर भविष्यमा यदि तपाईंले दिमागमा चिप राख्न चाहनु भयो भने हामी चिप प्रत्यारोपण गर्न सक्छौं,” लाइभस्ट्रिममा मस्कले भने । 

लाइभस्ट्रिममै मस्कले चिपले मस्तिष्कमा कुनै पनि नकारात्मक असर नपार्ने प्रष्ट पारे । यसअघि अमेरिकाको खाद्य तथा औषधि विभागले सुरक्षा सवालहरू उठाएको थियो । त्यसको केही समयपछि मात्र परीक्षण गर्ने अनुमति दिएको थियो । 

चिप प्रत्यारोपण गरेको व्यक्तिले सोचेकै भरमा विद्युतीय उपकरण नियन्त्रण गर्न र चाहेका डिजिटल काम गर्न सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार २७, २०८१ १७:५३