काठमाडौं । अब इन्स्टाग्राम रिल्समा २० ओटासम्म अडिओ ट्र्याक थप्न मिल्ने भएको छ । एउटा रिलमा फरक फरक ट्र्याक थप्न मिल्नेगरी इन्स्टाग्रामले 'मल्टिट्र्याक अडिओ' फिचर ल्याउने भएको हो ।
यसअघि रिल्समा एउटा मात्र ट्र्याक प्रयोग गर्न सकिन्थ्यो । तर अब भने प्रयोगकर्ताले एकै चोटि २० वटासम्म ट्र्याक प्रयोग गर्न सक्नेछन् । जसमा साउन्ड इफेक्ट राख्नेदेखि भिडिओ क्लिपसँग मिल्ने अडिओ राख्न सकिन्छ ।
यसरी ट्र्याक मिलेपछि इन्स्टाग्रामले स्वतः अडिओ मिक्स गरिदिन्छ । जसलाई प्रयोगकर्ताले सामान्य अवस्थामा जस्तै प्लेटफर्ममा शेयर गर्न सक्छन् । यो फिचर प्रयोग गर्न इन्स्टाग्रामको भिडिओ एडिटरमा 'एड टु मिक्स' नामक फिचर दिइएको हुन्छ । त्यसमा क्लिक गरेर सजिलै अडिओ मिक्स गर्न सकिने छ ।
त्यस्तै इन्स्टाग्राममा आउन लागेको यो फिचर टिकटक, युट्युब शर्ट्स जस्ता अन्य भिडिओ शेयरिङ प्लेटफर्ममा उपलब्ध छैन । अहिलेसम्म अडिओ मिक्स गर्न प्रयोगकर्ताले थर्ड पार्टी एप प्रयोग गरिरहनु पर्थ्यो । यस फिचरले अडिओ मिक्स गर्न प्रयोगकर्तालाई सजिलो हुने विश्वास गरिएको छ ।