close

सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै कार्यालय सहयोगीदेखि एसएसपीसम्म ९२ जना प्रहरीमाथि कारबाही

टेकपाना टेकपाना

साउन ७, २०८१ १४:४८

सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै कार्यालय सहयोगीदेखि एसएसपीसम्म ९२ जना प्रहरीमाथि कारबाही

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै ९२ जना प्रहरी कर्मचारी माथि कारबाही गरिएको छ । नेपाल प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको प्रतिवेदनमार्फत यस्तो तथ्याङ्क बाहिर आएको हो । 

कारबाहीमा पर्नेहरूमा कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म रहेका छन् । सामाजिक सञ्जाल दुरुपयोग गरेर कारबाही भोग्नेमा सबैभन्दा बढी प्रहरी जवान रहेको देखिन्छ । पछिल्लो आर्थिक वर्षमा सामाजिक सञ्जाल दुरुपयोग गर्दा ५३ प्रहरी जवान कारबाहीमा परेको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै छ जना प्रहरी सहायक हबलदार, छ जना प्रहरी सहायक निरीक्षक र छ जना प्रहरी निरीक्षक पनि सामाजिक सञ्जाल दुरुपयोग गरेको कसुरमा कारबाहीको भोगीदार बनेका छन् । सामाजिक सञ्जाल दुरुपयोग गरी कारबाहीमा पर्नेमा पाँच प्रहरी वरिष्ठ नायब निरीक्षक, चार प्रहरी नायब निरीक्षक र तीन प्रहरी हबलदार पनि रहेका छन् । 

दुई प्रहरी प्राविधिक प्रहरी नायब निरीक्षक, दुई प्रहरी वरिष्ठ हबलदार र दुई प्राविधिक प्रहरी जवानले पनि सामाजिक सञ्जाल दुरुपयोग गर्दा कारबाही भोग्नु परेको छ । त्यसैगरी एक प्रहरी उपरीक्षक, एक प्रहरी वरिष्ठ उपरीक्षक र एक प्रहरी कार्यालय सहयोगी पनि सामाजिक सञ्जाल दुरुपयोग गर्दा कारबाहीमा परेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: साउन ७, २०८१ १५:२७