close

डेटिङ एपमा भेटिएकी युवतीले बलात्कार मुद्दा हालेपछि ३ तलामाथिबाट हाम फालेर आत्महत्या प्रयास

टेकपाना टेकपाना

साउन ८, २०८१ १९:४६

डेटिङ एपमा भेटिएकी युवतीले बलात्कार मुद्दा हालेपछि ३ तलामाथिबाट हाम फालेर आत्महत्या प्रयास

काठमाडौं । डेटिङ एपमा भेटिएकी युवतीले जबरजस्ती करणीको जाहेरी हालेपछि युवकले तीन तलामाथिबाट हाम फालेर आत्महत्या प्रयास गरेको घटना बाहिर आएको छ । साउन ३ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएसँगै यस्तो घटना सार्वजनिक भएको हो । 

युवतीका अनुसार सबैभन्दा पहिले उनले ती युवकलाई चिनियाँ डेटिङ एप 'टनटन'मा भेटेकी थिइन् । कुरा गर्दै जाँदा युवकले भेट्न प्रेरित गरे । र, भेट्दा काठमाडौं ठमेलको एक होटेलमा लगी मदिरा सेवन गराएर जबरजस्ती करणी गरेको युवतीले बयान दिएकी छन् ।

तर, युवकले आफूले जबरजस्ती करणी नगरेको दाबी गरेका छन् । दुवैको सहमतिमा शारीरिक सम्पर्क भएको र पछि आफूले अर्की युवतीलाई मन पराउने कुरा गरेपछि युवतीले प्रहरी कार्यालयमा जाहेरी दिएको युवकको आरोप छ । 

युवतीले दिएको जाहेरीमा के छ ?

जाहेरवाली युवतीका अनुसार उनले युवकलाई अगस्ट २०२३ मा टनटन डेटिङ एपमा भेटेकी थिइन् । डेटिङ एपमा सामान्य परिचयबाट उनीहरूबीच कुरा सुरु भयो । त्यसपछि उनीहरू ह्वाट्सएपमा जोडिए । ह्वाट्सएपमा सामान्य साथीको रूपमा कुरा हुँदै गयो । 

“चिनजानपश्चात उनले मलाई पटक-पटक भेट्न बोलाए पनि म भेटघाट नगरी सामान्य कुराकानी मात्र गर्दै आइरहेकी थिएँ,” जिल्ला प्रहरी परिसर काठमाडौंमा युवतीले दिएको जाहेरीमा लेखिएको छ, “निजले म बालुवाटार स्थित आईटीको काम गर्छु, भीएफएन फिटनेसमा जिम गर्न जान्छु भन्ने गर्थे ।”

यसरी कुरा भएको केही महिना बितेको थियो । १४ वैशाखमा युवती मन्दिर जाने तयारी गर्दै थिइन् । त्यही बेला युवकको फोन आयो । उनले भेट्न बोलाए । युवतीले अगाडि भनिन्, “मैले सो दिन नभ्याउने भन्दा उनले केही समयका लागि मात्र हो । भेटघाट गरी ठमेल गई खाजा खाएर फर्किने भनी विश्वास दिलाए ।”

युवतीका अनुसार त्यसपछि उनी भेट्न तयार भइन् । युवक आफ्ना साथीहरू ल्याएर पुल्चोकस्थित लबिम मलमा आए । त्यसपछि युवतीलाई त्यही कारमा राखेर ठमेल लगे । 

सबैभन्दा पहिले उनीहरू होटेलमा बसेर जुस पिए । पछि युवतीले आफूलाई ढिलो हुने भन्दै जानुपर्ने बताइन् । तर, युवकले आफूले होटल बुक गरेको र कोठामा बसी सामान्य कुराकानी गर्दै खाजा खाएर निस्किने भनेपछि उनी होटेल जान तयार भइन् ।

“म जान्न भन्दा उनले तिमीलाई केही हुँदैन । तिम्रो अनुमति बिना तिमीलाई छुँदा पनि छुँदिनँ । किन डराउनु पर्यो ? भनी विभिन्न कुराकानी गरी मलाई विश्वासमा पारे,” युवतीले भनिन् । 

युवतीका अनुसार उनीहरू त्यसपछि ठमेलस्थित होटेल मुड्खु दरबारमा पुगे । प्रतिवादी युवकले साथीको आईडी कार्ड प्रयोग गरी ठमेलमा दुई ओटा कोठा लिए । एउटा कोठामा जाहेरी दिने युवती र प्रतिवादी युवक बसे र अर्को कोठामा उनका साथीहरू । 

“होटलको कोठामा पुगेपछि उनले मसँग अनावश्यक अश्लील हर्कत देखाउन थाले । म सो कोठाबाट निस्किन लाग्दा उनले मसँग माफी मागी 'भोज' एपबाट खाजा मगाएको र छ भनि चार ओटा बियर सहित खाजाहरू मगाएको रहेछन्,” युवतीले भनिन् । 

युवतीका अनुसार उनले खाँदिन भनेर जोड गरिन्, तर उनलाई जबरजस्ती बियर खान लगाइयो । आफू नसामा पारेपछि प्रतिवादी युवकले राति ११:५० बजेको समयमा अनुमति बिनै शारीरिक बल प्रयोग गरी मुख थुनी कराउन चिच्याउन मद्दत माग्न नदिई कपडा खोलेर पटक-पटक जबरजस्ती करणी गरेको युवतीको आरोप छ । 

भोलिपल्ट आफू इन्ड्राइभ राइड सेवा प्रयोग गरी घरमा गएको र त्यसपछि उक्त घटनाको कारण बिरामी परेको युवतीले बताएकी छन् । 

प्रतिवादी युवकले के भने ?

युवकका अनुसार डेटिङ एपमा युवती भेटिएर ह्वाट्सपमा कुरा गर्न थालेपछि युवतीले आफ्नो 'ब्रेकअप' भएको कुरा सुनाएकी थिइन् । त्यही पीरले आफू डिप्रेसनको शिकार भएको बताएकी थिइन् । सुरुवातमा उनीहरूबीच सामान्य कुरा भइरह्यो । 

“कुराकानी हुँदै जाँदा मिति, समय थाहा भएन । रातिको समयमा युवतीले नै मलाई फोन गरी म भक्तपुर कौशलटारतिर आएकी छु । तिमीलाई फुर्सद भए मलाई भेट्न आउन भनेकी थिइन्,” युवकले प्रहरीलाई बयान दिने क्रममा भने । 

उनले भेट्न अस्वीकार गरेपछि पनि युवतीसँग सामाजिक सञ्जालमा कुरा भइरहेको हुन्थ्यो । युवकका अनुसार १४ वैशाखमा दिउँसो ४ बजेतिर युवतीले ह्वाट्सएपमा मेसेज गरेर आफू लोकन्थलीको पार्टी प्यालेसमा आउँदै गरेको बताइन् ।

युवकले अगाडि भने, “उनले आज भेटौं न भनी मेसेज गरेकी रहेछिन् । साथै ओयो होटल लान्छौ कि कता लान्छौ ? भेटेपछि गाडीमा गर्ने कि होटलमा गर्ने भनी सेक्स सम्बन्धी कुरा गरेकी थिइन् ।”

युवक पनि साथीको दाइको बिहेको पार्टीमा साथीसँग कौशलटार जाने योजना बनाइरहेका थिए । त्यहीबेला युवतीसँग ठमेलमा भेट्ने कुरामा सहमति जनाएको प्रहरीलाई बयान दिने क्रममा युवकले भने ।

त्यसपछि बेलुका ७ बजेतिर युवक आफ्नो बुवाको कारमा साथीहरूसँग कौशलटारको पार्टी प्यालेस पुगे । त्यतिबेला उनी ह्वाट्सएपमा युवतीसँग बोलिरहेका थिए । 

“उनले आफू मामासँग आएकोले मामालाई घर पठाएर लबिम मलमा गएर बस्छु भनेकी थिइन् । मलाई त्यही लिन आऊ भनी मेसेज गरिन्,” युवकले भने । 

राति ९ बजेतिर पार्टी प्यालेसबाट निस्किएर ती युवक आफ्ना साथीहरू सहित लबिम मल पुगे । र, युवतीलाई पिकअप गरेर ठमेल लगे । त्यसपछि उनीहरू होटेल काष्टमाण्डु पुगे । 

राति ११ बजे उनीहरू होटल मुड्खु दरबार पुगे । कोठामा पुगेको केही समय कुराकानी भएपछि युवतीको सहमतिमै आफूहरूबीच शारीरिक सम्पर्क भएको युवकको भनाइ छ ।

त्यसपछि १२ बजे उनीहरू होटलबाट निस्की  बाहिर घुम्न थाले । बाहिर केहीबेर बसेपछि उनीहरू पुनः कोठामा पुगे । 

“कोठामा आएपछि उनले बियर खाने भनेकीमा मैले म बियर खाँदिन भन्दा पनि उनले आफ्नै मोबाइलको भोज एपबाट चार ओटा बियर र बियरसँग खानको लागि मासुको परिकार समेत मगाएकी थिइन्,” युवकले भने ।

युवतीले कर गरेपछि आफूले बियर पिएको युवकको जिकिर छ । त्यसपछि पनि उनीहरूबीच सहमतिमै शारीरिक सम्पर्क भएको थियो । युवकले अगाडि भने, “त्यो रात हामी होटलमै सुत्यौं । बिहान उठेपछि मैले उनलाई घरसम्म छोडिदिन्छु भन्दा उनले म आफैं इन्ड्राइभ गरी जान्छु भनेर छुट्टिइन् ।”

त्यसपछि पनि युवतीसँग उनको ह्वाट्सएपमा कुरा भइरहेको हुन्थ्यो । कुरा गर्ने क्रममा युवकले आफ्नो एक केटी साथी भएको सुनाए । आफूले एकोहोरो माया गरे पनि केटी साथीले नगरेको सुनाए ।

“पछि उनले तिम्रो गलफ्रेन्ड हुँदा हुँदै म सँग किन शारीरिक सम्पर्क राख्यौ भनी झगडा गर्न थालिन् । मैले निजलाई मेरो गलफ्रेन्ड होइन । मैले मात्र मन पराउँथे भनी सम्झाई बुझाई गरे,” युवकले बयानमा भने, “उनले मलाई तँ विरुद्ध रेप केस हाल्छु । तँलाई जेल पठाइदिन्छु । तँलाई जेल हालिनँ भने म आफैं मर्छु भनी धम्की दिन थालिन् ।”

युवतीले रेप केस हालिन् अथवा सुसाइड गरिन् भने आफू जेल जानुपर्छ, आफ्नो भविष्य बिग्रिन्छ, आमा बुवाको इज्जतमा दाग लाग्छ, बरु म मरेँ भने सबैले शान्ति पाउँछन् भन्ने सोची आत्महत्याको प्रयास गरेको उनले बताएका छन् ।

२७ वैशाख बिहान ६ बजे आत्महत्या गर्न आफ्नो घरको तेस्रो तलाबाट हामफालेको उनले बताए । त्यसपछि आफ्नो होस् आउँदा अस्पतालमा रहेको पाएको उनको भनाइ छ ।

“उपचारकै क्रममा जाहेरवालाले मेरो विरुद्धमा जबरजस्ती करणी मुद्दामा जाहेरी दिएको कुरा मैले थाहा पाएको थिएँ,” युवकले अगाडि भने, “हाल उपचार पश्चात मेरो स्वास्थ्य अवस्थामा केही सुधार आएकाले म मेरो बुवाको साथ यस कार्यालय (प्रहरी) मा उपस्थित हुन आएको छु ।

उनले आफू अहिले पनि हिँडडुल गर्न सक्ने अवस्थामा नभएको बताएका छन् । प्रहरीसँग बयान दिंदा उनले जबरजस्ती करणी नभएको जिकिर गरेका छन् । 

युवक विरुद्धको अभियोग 

प्रतिवादीले पीडितलाई जवरजस्ती करणी नगरी पीडितको सहमतिमा करणी गरेको बयान दिए पनि पीडितले आफूलाई जबरजस्ती करणी गरेको जाहेरी दिएकी छन् ।

जबरजस्ती करणी मुद्दामा पीडित नै वारदातको साक्षी हुने र सोलाई नै स्वीकार्य प्रमाण मानिने हुँदा प्रतिवादीको जबरजस्ती करणी नगरेको भनी गरेको इन्कारी बयान विश्वासयोग्य नदेखिँदा प्रतिवादीले जाहेरवालालाई जवरजस्ती करणी पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ ।

अभियोगपत्रमा प्रतिवादी युवकले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) ले निषेधित र उपदफा (२) ले परिभाषित कसूर जन्य कार्य गरेको तथ्य सप्रमाण पुष्टि भएको उल्लेख छ । 

त्यसैले प्रतिवादी युवकलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) (ङ) बमोजिम सजायको माग गरिएको छ । त्यस्तै प्रतिवादीलाई सोही संहिताको दफा २१९ को उपदफा (३क) को देहाय (ग) बमोजिम जरिवाना गरी उक्त जरिवाना रकम पीडितलाई भराई दिलाई पाउन मागदाबी गरिएको छ । 

त्यसैगरी यो मुद्दा निरन्तर सुनुवाइको प्रकृतिको मुद्दा रहेकाले बन्द इजलासमा गोपनीयता कायम राखी निरन्तर सुनुवाइ गर्न समेत अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ २०:२९