काठमाडौं । देशका प्रमुख नेताहरूको फोटो राखेर उनीहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्ने ज्योतिष पुष्कर खतिवडा पक्राउ परेका छन् । अनुष्ठानको सामाजिक सञ्जालमा लाइभ समेत गरेका उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।
उनी स्वयम्ले आफू पक्राउ परेको सूचना सामाजिक सञ्जालमार्फत दिएका छन् । “मलाई भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। कामना गरौं देश बनोस्,” उनले लेखेका छन् । प्रहरी स्रोतले समेत उनलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको पुष्टि गर्यो । प्रहरी स्रोतका अनुसार उनलाई सोधपुछका लागि लगिएको हो ।
खतिवडाको आजको अनुष्ठानमा केही युट्युबरहरू समेत पुगेका थिए । अनि पूजा सामग्रीहरूसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखिएको देख्न सकिन्थ्यो ।
उनले लाइभ गरेको भिडिओमा मन्त्रोच्चारण गरिरहेको समेत सुन्न सकिन्छ । यसअघि देखि नै सामाजिक सञ्जालमा विभिन्न विषयमा बोल्दै चर्चित बनेका खतिवडाले त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भए लगत्तै नेताहरूको मृत्युबारे कामना गर्न अनुष्ठान आयोजना गर्ने घोषणा गरेका थिए ।