close

फेसबुक पोस्टमा जातीय विभेद निम्त्याउने कमेन्ट गर्ने शिक्षक पक्राउ

टेकपाना टेकपाना

साउन १४, २०८१ १६:२१

फेसबुक पोस्टमा जातीय विभेद निम्त्याउने कमेन्ट गर्ने शिक्षक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेद निम्त्याउने किसिमको कमेन्ट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्रिय मावि महाबू-४, गीताचौर, सुर्खेतमा अङ्ग्रेजी पढाउने शिक्षक तर्कबहादुर सिंह रहेका छन् । 

उनी सोही ठाउँका स्थानीय पनि हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी वीरेन्द्रबीर विश्वकर्माका अनुसार आरोपित सिंहले एक फेसबुक पोस्टमा जातीय विभेद निम्त्याउने कमेन्ट गरेका थिए । 

आपत्तिजनक भाषा प्रयोग गरी कमेन्ट गरेको भन्दै ८ साउनमा उनीविरुद्ध कार्यालयमा निवेदन परेको थियो । उक्त निवेदन आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालमा कर्णाली प्रदेश प्रमुख तिलक परियारको सचिवालयका कर्मचारीको विवरण सामाजिक सञ्जालमा आएको थियो । खासगरी परियारले आफ्ना मान्छे राखेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको थियो । त्यही पोस्टमा जातीय विभेद निम्त्याउने किसिमको कमेन्ट गर्दा शिक्षक सिंह जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दामा पक्राउ परेका हुन् । 

डिएसपी विश्वकर्माका अनुसार सामाजिक सञ्जालबाट त्यस्ता आपत्तिजनक शब्द राखेर जातीय विभेद निम्त्याउँदा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पनि मुद्दा चल्न सक्छ । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन १४, २०८१ १६:२१