काठमाडौं । कोड एभाटर टेक प्रालिले आयोजना गरेको तीन महिने लामो 'कोडएभाटर ह्याकाथन २०२४' सम्पन्न भएको छ । शनिवार भएको ह्याकाथनको अन्तिम प्रतिस्पर्धामा सहभागी सात समूहमध्ये टिम क्लटरकट र टिम एपिक एआई टुल्स विजेता बनेका छन् ।
प्रत्येक टोलीलाई उनीहरूको उत्पादन (प्रोडक्ट) प्रदर्शन तथा योजना प्रस्तुत गर्न सात मिनेटको समय दिइएको थियो । सो अवसरमा प्रतिस्पर्धीहरूले अहिले विश्वले भोगिरहेका वास्तविक चुनौतीहरूको यथार्थ समाधान दिएका थिए ।
यसरी राखिएका प्रोडक्टहरुमा डार्क स्काउट, फ्यान्टासी धारा लिग, एपिक एआई टुल्स, क्लटरकट, एडस्टोर, सासहन्ट र डु–कम्पेटिटर रहेका थिए ।
काठमाडौं विश्वविद्यालयका पंकजराज दवाडी, काठमाडौं इन्जिनियरिङ कलेजका सुदीप शाक्य, थापाथली इन्जिनियरिङ क्याम्पसका उमेशकान्त घिमिरे, सफ्टवेरिका कलेजका किरण राखना, नामी कलेजका निश्चल खढ्का र पुल्चोक क्याम्पसका संजीवन सत्याल रहेको निर्णायक मण्डलको मूल्याङ्कनबाट एपिक एआई टुल्स र क्लटरकट विजेता बन्न सफल भए ।
‘एपिक एआई टुल्स’ एआई र नयाँ प्रविधिहरूमा सफ्टवेयर सम्बन्धी समाधान खोज्न सहयोग गर्ने प्लेटफर्म हो । यो टिममा आदित्य आचार्य र उज्वल खड्का रहेका छन् ।
त्यस्तै ‘क्लटरकट’ लाइभ च्याटलाई विभिन्न तथ्याङ्कमा बदल्ने एआई टुल हो । यसलाई अभिषेक रेग्मी, कुशल सरकार र प्रख्यात श्रेष्ठले बनाएका हुन् ।
ह्यकाथानमा दुवै विजेताले १०/१० लाख रुपैयाँ बराबरको सिड इन्भेस्टमेन्ट प्राप्त गरेका छन् । यो पुरस्कारले ह्याकाथनमा विकास भएका प्रोडक्टलाई व्यावसायिक स्वरूपमा ल्याउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।