close

विश्वभरका ८५ लाख बढी विन्डोज कम्प्युटर डाउन भएकोमा क्राउडस्ट्राइकलाई 'महान् असफलता अवार्ड'

टेकपाना टेकपाना

साउन २८, २०८१ १९:३४

विश्वभरका ८५ लाख बढी विन्डोज कम्प्युटर डाउन भएकोमा क्राउडस्ट्राइकलाई 'महान् असफलता अवार्ड'

काठमाडौं । केही समयअघि एन्टिभाइरस कम्पनी क्राउडस्ट्राइकका कारण विश्वभरका ८५ लाखभन्दा बढी विन्डोज कम्प्युटर प्रभावित भए । जसका कारण उक्त समयमा विभिन्न एयरलाइन्स, रेलवे, स्टक एक्स्चेन्ज, टेलिभिजन प्रसारण, टेलिकम, बैंकिङ लगायतका सेवा ठप्प हुन पुगेका थिए । 

सो समस्या अहिले समाधान भइसकेको छ । तर, त्यही समस्याका कारण क्राउडस्ट्राइकलाई एउटा अनौठो पुरस्कार दिइएको छ । साइबर सुरक्षा सम्बन्धी द पोनी अवार्ड (The Pwnie Awars) मा क्राउड स्ट्राइकलाई ‘मोस्ट एपिक फेल’ पुरस्कार अर्थात् महान असफलताको पुरस्कार दिइएको हो ।

क्राउडस्ट्राइकका अध्यक्ष माइकल सेन्टोनसले उक्त अवार्ड स्वीकार समेत गरिसकेका छन् । अहिले सामाजिक सञ्जालहरूमा उनले पुरस्कार थापेको भिडिओ भाइरल छ । जहाँ आयोजकले सेन्टोनसलाई पुरस्कार दिइरहेको देख्न सकिन्छ । त्यसपछि उनले गरेको छोटो भाषण पनि सुन्न सकिन्छ ।

सो पुरस्कार अमेरिकाको लस भेगासमा हालै सम्पन्न डेफ कन (Def Con) मा दिइएको हो । डेफ कन एक अन्तर्राष्ट्रिय ह्याकर सम्मेलन हो । जसमा साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने विश्वभरका शीर्ष ह्याकरहरू सहभागी हुने गर्छन् । 

यस पुरस्कारले क्राउडस्ट्राइकलाई दोस्रो मौका दिन साइबर विज्ञहरू इच्छुक देखिएको अर्थ दिने बताइएको छ । साथै कम्पनीलाई आफ्नो गल्तीहरू स्वीकार गर्न बोध गराउने जनाइएको छ । 

पुरस्कार ग्रहण गर्दै सेन्टोनस आफैंले यो पुरस्कार गर्व गर्न लायक नभएको बताएको सुन्न सकिन्छ । “मैले यो पुरस्कार पाउने कुरा टिममा सुनाउँदा सबै जना छक्क परेका थिए, “ उनले भनेका छन्, “किनकि हामीले ठूलो गल्ती गरेका थियौं । र यो कुरा धेरै पटक भनिसकेका छौं । यो पुरस्कार (द पोनी अवार्ड) तपाईंले अत्यन्त राम्रो काम गर्दा पनि पाउनुहुन्छ र, गलत काम गर्दा पनि पाउनुहुन्छ ।”

अब उनले यो पुरस्कार कम्पनीको प्रधान कार्यालयमा सबैले देख्ने गरी राख्ने बताएका छन् । यसले आफ्नो लक्ष्य मानिसहरूको सुरक्षा गर्नु भन्ने कुरा सम्झाउने उनको तर्क छ । साथै अब उप्रान्त त्यस्तो गल्ती हुन नदिने समेत उनले बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन २८, २०८१ १९:३६