काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले एआई प्रविधि प्रयोग गरी आफ्नो चरित्रहत्या भइरहेको गुनासो गरेकी छिन् । बुधबार साइबर ब्युरोलाई पत्राचार गर्दै उपमेयर डङ्गोलले आफ्नो नामका नक्कली फेसबुक पेज बढ्दै गइरहेको र तीनै पेजबाट चरित्रहत्या हुने किसिमका पोस्ट भएको भन्दै कारबाहीका लागि अनुरोध गरेकी हुन् ।
“...एआई प्रविधिबाट फोटो तथा भिडिओ एनिमेसन गरी सामाजिक सञ्जालमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मको कार्यहरू भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडिओ, फोटो तथा समाचारहरू हटाइदिनुहुन र प्रयोगकर्तालाई कानून बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,” ब्युरोलाई उमेयर डङ्गोलको सचिवालयले पठाएको पत्रमा लेखिएको छ ।
हालै मात्र डिपफेक प्रविधि प्रयोग गरी महानगरका मेयर बालेन शाह र उपमेयर डङ्गोलले चुम्बन गरेको दृश्य बनाई सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो ।
साथै डङ्गोलले फेसबुकमा भएका आफ्ना नामका नक्कली फेसबुक पेज बन्द गर्न समेत ब्युरोलाई अनुरोध गरेकी छन् ।
यसअघि पनि डङ्गोलको सचिवालयले १३ जेठ र २५ असारमा ब्युरोलाई पत्र पठाउँदै नक्कली फेसबुक पेज बन्द गराउन अनुरोध गरेको थियो । हालसम्म पनि ती फेसबुक पेज सञ्चालन भइरहेको पत्रमा उल्लेख छ ।