close

मन्दिरको क्यूआर कोड साटी आफ्नो राख्ने कानुनका विद्यार्थी पक्राउ

टेकपाना टेकपाना

साउन ३१, २०८१ १४:३१

मन्दिरको क्यूआर कोड साटी आफ्नो राख्ने कानुनका विद्यार्थी पक्राउ

काठमाडौं । बौद्ध मन्दिरमा धर्मावलम्बीले दिने दान आफ्नो खातामा आउने बनाएको आरोपमा चीनमा एक विद्यार्थी पक्राउ परेका छन् । चीनको प्रतिष्ठित विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर तह पूरा गरेका ती व्यक्तिले क्यूआर कोड साटेको भिडिओ बाहिरिएपछि पक्राउ परेका हुन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ती व्यक्ति विभिन्न धार्मिक स्थल पुगी त्यहाँ भएका क्यूआर कोडको ठाउँमा आफ्नो क्यूआर कोड राखिदिन्थे । यसरी क्यूआर कोड बदलिदिंदा धर्मावलम्बीले चढाउने भेटी उनको बैंक खातामा पुग्थ्यो ।

बओजी सहरको फ्यामेन मन्दिरमा एक व्यक्तिले दान पेटिकाको क्यूआर कोडमा आफ्नो क्यूआर कोड राख्न लागेको फुटेज बाहिरिएपछि उक्त घटना बाहिर आएको थियो । 

प्रहरीले ती व्यक्तिको नाम बाहिर ल्याएको छैन । यस वर्ष उनले शान्क्षी, सिचुवान र चोङकिङ राज्यका मन्दिरमा क्यूआर कोड परिवर्तन गरेको प्रहरीले जनाएको छ । यसरी हालसम्म उनले ३०,००० चिनियाँ युआन (करिब पाँच लाख ६२ हजार रुपैयाँ) चोरी गरेको बताइएको छ । 

प्रहरीले सार्वजनिक गरेको भिडिओमा ती व्यक्तिले कसरी मन्दिरको क्यूआर कोड साटफेर गर्थे भन्ने देखाइएको छ । पक्राउपछि ती व्यक्तिले सबै रकम फिर्ता गरेका छन् ।

-एजेन्सीको सहयोगमा

 

पछिल्लो अध्यावधिक: साउन ३१, २०८१ १४:५१