काठमाडौं । टेलिग्रामका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल डुरोभ पक्राउ परेका छन् । निजी जेटबाट अजरबैजानबाट फ्रान्स आउँदै गर्दा उनलाई फ्रान्सेली प्रहरीले पेरिस नजिकैको बुर्जेट विमानस्थलबाट गिरफ्तार गरेको हो ।
फ्रान्सेली मिडियाका अनुसार ३९ वर्षीय डुरोभमाथि टेलिग्राम प्लेटफर्मको दुरुपयोगसम्बन्धी गम्भीर आरोप लागेको छ । अधिकारीहरूका अनुसार टेलिग्राम एप मनी लन्डरिङ, लागूऔषध ओसारपसार, बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको ओसारपसार लगायतका लागि प्रयोग भएको पाइएको छ । यसै आधारमा डुरोभविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
उनी विरुद्ध फ्रान्सेली अदालतमा आइतबार अभियोगपत्र दर्ता हुनसक्ने रोयटर्सले जनाएको छ ।
पक्राउको खबर सार्वजनिक भएपछि टेलिग्राम प्रयोगकर्ताहरूमा ठूलो तरंग आएको छ । विश्वभर टेलिग्रामका एक अर्ब हारहारीमा प्रयोगकर्ता छन् । रुस, युक्रेन र पूर्व सोभियत संघका देशहरूमा टेलिग्राम बढी चर्चित छ ।
डुरोभ पक्राउ परेसँगै टेलिग्रामको भविष्यबारे प्रश्न उठेको छ । यसले विश्वभरका मेसेजिङ एपहरूको नियमनमा कस्तो असर पार्छ भन्ने विषयमा बहस हुन थालेको छ ।