काठमाडौं । गुगलले हालै मात्र वेबका लागि जिमेलको इनबक्समा एआई च्याटबटको सुविधा उपलब्ध गराएको थियो । यो फिचर अब फोनमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले ‘जिमेल क्यू एन्ड ए’ नाम दिएको यो फिचर पहिलो चरणमा एन्ड्रोइड डिभाइसमा उपलब्ध हुन थालेको छ ।
जिमेल क्यू एन्ड ए फिचर प्रयोग गरी तपाईंले आफ्नो जिमेल इनबक्सका बारेमा सोध्न सक्नुहुन्छ । जिमेलमा हजारौंको सङ्ख्यामा ईमेल छन् र तपाईंले चाहेको ईमेल खोज्नुभयो । यस्तोमा तपाईंले ईमेल आएको एड्रेस वा कन्टेन्ट सम्झिनु पर्ने हुन्छ । तर, तपाईंलाई एड्रेस पनि थाहा छैन, त्यहाँ भित्र ठ्याक्कै कस्तो विषय थियो भन्ने पनि थाहा भएन भने ईमेल खोज्न सकस नै पर्छ ।
जिमेल क्यू एन्ड ए फिचरको प्रयोगबाट भने तपाईंले कस्तो ईमेल खोज्नु भएको हो त्यो प्रम्प्ट राखेर ईमेल खोज्न सक्नुहुन्छ । तपाईंले दिएको प्रम्प्टको आधारमा जिमेलको उक्त फिचरले ईमेल खोजिदिनेछ । त्यसबाहेक कुनै ईमेलको सारांश तयार पार्न पनि सो फिचर प्रयोग गर्नुपर्ने हुन्छ ।
गुगलले यो फिचर २०२४ को सुरुवाततिर घोषणा गरेको थियो । त्यसपछि बेटा टेस्टरका लागि उपलब्ध भएको यो फिचर पछि सबैका लागि वेबमा उपलब्ध भएको थियो ।
अहिलेलाई यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले गुगल वन एआई प्रिमियम वा गुगल वर्कस्पेस प्लानको सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । यस्तो सब्स्क्रिप्सन जेमिनाई बिजनेस, इन्टरप्राइज, एजुकेसन वा एजुकेसन प्रिमियम एड-अन्सका रूपमा लिन सकिन्छ ।
गुगलले बिहीबारदेखि उपलब्ध गराएको यो फिचर सबै प्रयोगकर्तामाझ पुग्न १५ दिनसम्म लाग्ने बताइएको छ । यसपछि आईओएस प्रयोगकर्ताका लागि पनि यो एआई फिचर छिट्टै उपलब्ध गराउने कम्पनीको योजना छ ।