close

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास आउँदै

टेकपाना टेकपाना

भदौ २५, २०८१ ९:२६

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास आउँदै

काठमाडौं । एआई र रोबोटिक्स विषय प्रधान पहिलो नेपाली उपन्यास प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा कम लेखिएको विषयवस्तुमाथि प्रकाशक बुकहिलले डाक्टर श्रीधर खनाल कृत सावर्णि प्रकाशन गर्ने भएको हो । 

प्रकाशक भूपेन्द्र खड्काका अनुसार सावर्णिमा हिजोका महाभारत र कृष्ण युगका कथा र आज मानिस स्वयंले जन्माएको एआई र रोबोटिक्सको कथा पढ्न सकिने छ । त्यस्तै पुस्तकमा मानव सभ्यताको विकास हुनुभन्दा अघिका युग र अहिले मान्छेले नै सिर्जना गरेको एआई दुनियाँ बिचको कथालाई प्रतिविम्बित गर्न खोजिएको छ । 

“अबको युग के हो ? मान्छेले सिर्जना गरेको एआई/रोबोटले कस्तो संसार बसाउँछ ? त्यसले मान्छेलाई हित गर्छ कि अहित ? मान्छेले रोबोटिक संसार बसाउँछ कि मानवले आफ्नो हितका लागि रोबोटलाई काममा लगाउँछ भन्ने कुराहरू पुस्तकले समेटेको छ,” टेकपानासँगको कुराकानीमा खड्काले भने ।

बुकहिलले यसलाई पहिलो नेपाली रोबोटिक्स फिक्सन पुस्तक भनेर दाबी गरेको छ । पुस्तकका लेखक डा. खनाल बाल रोग विशेषज्ञ समेत हुन् । उमेरले ३६ लागेका उनी यस पुस्तकबाट ८० को दशकको उम्दा लेखकको रूपमा खडा हुने प्रकाशक खड्काले विश्वास व्यक्त गरे । 

१७० पृष्ठको यो उपन्यासको मूल्य ४०० रुपैयाँ कायम गरिएको छ । यस पुस्तकको कभर डिजाइन भने सचिन यगोल श्रेष्ठले गरेका हुन् । पुस्तक भने असोज पहिलो साता विमोचन गर्ने तयारी छ । त्यसपछि यो बजारमा उपलब्ध हुनेछ ।

 

पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ ९:५३