काठमाडौं । अब मेटा एआईमार्फत सेलिब्रेटीहरूको आवाजमा कुराकानी गर्न सकिने भएको छ । हालै सम्पन्न ‘मेटा कनेक्ट २०२४’ मा कम्पनीले आफ्नो एआई च्याटबटमा सेलिब्रेटीहरूको आवाज थप्ने घोषणा गरेको हो ।
यससँगै अब इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकमा मेटा एआईमार्फत सेलिब्रेटीको आवाजमा कुराकानी गर्न सकिने छ । यसअन्तर्गत मेटाले नायिका अक्वाफिना, रेस्लर जोन सिना, नायक किगन माइकल की, नायिका क्रिस्टन बेल, नायिका जुडी डेन्च लगायतका सेलिब्रेटीहरूको आवाज समावेश गरेको छ ।
यी सेलिब्रेटीको आवाजमा कुराकानीसँगै फोटो अपलोड गरेर त्यसबारेमा पनि सोध्न सकिने छ । साथै कुराकानीमार्फत नै उक्त फोटो सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।
यद्यपि सुरुमा यी सेलिब्रेटीका आवाजहरू अमेरिकी प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध हुनेछ । मेटा एआईमा सेलिब्रेटीबाहेकका अन्य आवाजमा पनि कुराकानी गर्न सकिने छ । जुन अहिले गुगल र ओपनएआईले दिइरहेका छन् ।
द वाल स्ट्रिट जर्नलका अनुसार मेटाले हरेक सेलिब्रेटीलाई लाखौं डलर तिरेर उनीहरूको आवाज प्रयोग गरेको हो । केही सेलिब्रेटीहरूले भने आफ्नो आवाजले गर्ने कुरामा सीमितता राखेको बताइएको छ । यसैगरी मेटा एआईको प्रयोगमा कुनै कानुनी जिम्मेवारी नलिने पनि उनीहरूले बताएका छन् ।