close

आज विश्व मुस्कान दिवस, स्माइली इमोजीसँग के छ सम्बन्ध ?

टेकपाना टेकपाना

असोज १८, २०८१ १२:५८

आज विश्व मुस्कान दिवस, स्माइली इमोजीसँग के छ सम्बन्ध ?

काठमाडौं । हरेक वर्ष अक्टोबरको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाइन्छ । यस वर्ष यो दिवस आज अर्थात् ४ अक्टोबरमा परेको छ । यस दिनको उद्देश्य मानिसहरूलाई मुस्कानको महत्त्वको बारेमा सम्झाउने र समाजमा खुशी र सकारात्मकता फैलाउने हो।

मुस्कान खुसीमा मात्र आउँछ । यसकारण मुस्कानले मानिसको स्वास्थ्यमा सुधार ल्याउँछ । शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । सकारात्मक ऊर्जा, कृतज्ञता र मित्रताको भावना प्रगाढ बनाउँछ । 

यो दिवस मनाउन थालेको धेरै वर्ष भइसकेको छ । यसको सुरुवात अमेरिकाका ग्राफिक्स डिजाइनर हार्भी बलले गरेका थिए । वर्सेस्टर, म्यासाचुसेट्सका बलले सन् १९६३ मा आफ्नो ग्राहकको लागि पहिलो पटक स्माइली इमोजी बनाएका थिए ।

उक्त ग्राहक एक बीमा कम्पनी थियो । जसले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन सहयोग गर्ने तस्वीर खोजिरहेको थियो । अनि ग्राफिक्स डिजाइनर बलले ‘स्माइली इमेजी’ बनाइदिए ।

समयसँगै बलले बनाएको उक्त इमोजीले लोकप्रियता पाउँदै गयो । स्माइली इमोजीको त्यस्तो व्यापक प्रयोगले इमोजीको वास्तविक उद्देश्य र अर्थ खस्कने खतरा बलले महसुस गरे । त्यसैले गर्दा उनले मुस्कानको महत्वलाई सम्झाउन/बुझाउन एक विशेष दिन नै चाहिने महसुस गरे । यसरी सन् १९९९ देखि हरेक वर्ष अक्टोबरको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउन थालिएको हो ।  

हार्भी बलको निधनपछि सन् २००१ मा ‘हार्भी बल वर्ल्ड स्माइल फाउन्डेसन’ स्थापना भयो । यस संस्थाले स-साना स्थानीय च्यारिटीहरूलाई आर्थिक सहयोग समेत गर्ने गर्छ । यसका साथै हरेक वर्षको मुस्कान दिवसको थिम पनि राख्ने गर्छ । 

यस वर्षको मुख्य थिम ‘दयालु काम गर्नुहोस्, कसैलाई मुस्कान दिन सहयोग गर्नुहोस्’ रहेको छ । नाम जस्तै यस थिमले मुस्कान फैलाउनका लागि मानिसहरूलाई प्रोत्साहित गरेको छ । 

स्माइली इमोजी पहेंलो अनुहारमा मुस्कान देखाउने रेखाचित्र हो । यसले खुसी, सकारात्मकता, आनन्द र मित्रताको भावना व्यक्त गर्छ । आजसम्म आइपुग्दा अन्य स्माइली इमोजीहरू पनि प्रयोगमा आइरहेका छन् ।

एकैक्षण मुस्कुराउनुहोस् त, तपाईंलाई पनि हाम्रोतर्फबाट विश्व मुस्कान दिवसको शुभकामना ! 

सम्बन्धित समाचार:

६ हजार रुपैयाँमा यसरी तयार भएको थियो स्माइली ईमोजी

पछिल्लो अध्यावधिक: असोज १८, २०८१ १३:१८