close

तपाईँले फलो नगरेका अकाउन्टका कन्टेन्टहरू किन देखाउँदै छ फेसबुक ?

टेकपाना टेकपाना

असोज १९, २०८१ १५:५९

तपाईँले फलो नगरेका अकाउन्टका कन्टेन्टहरू किन देखाउँदै छ फेसबुक ?

काठमाडौं । फेसबुकले अब प्रयोगकर्तालाई मित्र र परिवारको सामाजिक घेराबाट बाहिर निकाल्ने भएको छ । यसो हुँदा अब फेसबुकमा फलो नगरेका कन्टेन्ट र अकाउन्ट अझ बढी देखिने छ । 

नयाँ अपडेट अन्तर्गत फेसबुकले प्रयोगकर्ताहरूको लोकेसनका आधारमा पनि नयाँ कन्टेन्टहरू देखाउने भएको छ । यसका लागि ‘लोकल’ ट्याब उपलब्ध हुनेछ । जसमा मार्केटप्लेस, लोकल ग्रुप, इभेन्टस् जस्ता सेक्सनबाट सङ्कलन गरिएका कन्टेन्ट देखिने बताइएको छ । लोकल ट्याब हाल अमेरिकाका १० सहरमा परीक्षण भइरहेको द भर्जले जनाएको छ । 

फलो नगरेका अकाउन्टका कन्टेन्टहरू देखिए पनि ती प्रयोगकर्ताकै रूचिमा आधारित हुने बताइएको छ । यद्यपि, कतिपय विश्लेषकले यस्तो फिचर गोपनीयता र व्यक्तिगत प्राथमिकतासँगको सम्बन्धमा प्रश्न उठाउने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै ‘एक्सप्लोर’ नामक ट्याब पनि थप्ने तरखरमा फेसबुक रहेको छ । फेसबुकका अनुसार यो ट्याब प्रयोगकर्ताका रूचिहरूमा आधारित हुने र विशेषगरी यसमा यात्रा सम्बन्धी टिप्स, डीआईवाई ट्युटोरियल जस्ता सामग्री देखिने छन् । 

फेसबुकले टिकटकलाई चुनौती दिनेगरी अर्को ट्याब समेत थप्ने भएको छ । उक्त ट्याबले टिकटकको ‘फर यू’ पेज जस्तै भिडिओ फिड जसरी काम गर्ने छ । त्यसमा छोटो, लामो र लाइभ भिडिओहरू देखिने छन् ।

फेसबुकका अनुसार अहिलेको युवापुस्ताले सामाजिक सञ्जालमा बिताउने आफ्नो समयको ६० प्रतिशत भिडिओ हेर्छन् । यसैले गर्दा पनि फेसबुकले भिडिओलाई केन्द्रित गर्ने नयाँ ट्याब राख्ने भएको हो । 

यसका साथै मेसेन्जरमा समेत ‘मेसेन्जर कम्युनिटिज’ नामक नयाँ फिचर थपिने भएको छ । यसबाट प्रयोगकर्ताले छुट्टाछुट्टै च्याटरुम बनाउन सक्नेछन् । जुन स्ल्याक अथवा डिस्कर्ड जस्तै हुने बताइएको छ । 

अहिलेको चर्चित सामाजिक सञ्जाल टिकटकमा आफूले फलो नगरेको कन्टेन्ट र अकाउन्ट बढी मात्रामा देखिन्छ । यसले कतिपयलाई फाइदा नै गरेको छ । मेटाले हालै थप्ने घोषणा गरेका यी ट्याबले फेसबुकलाई टिकटक जस्तै बनाउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८१ १६:१८