काठमाडौं । कोड फर चेन्ज नेपालले आयोजना गर्ने कोडफेस्ट २०२४ को दर्ता मितिमा परिवर्तन भएको छ । थप सहभागीहरूलाई मौका दिनका लागि दर्ता मितिलाई १० नोभेम्बरसम्म पछि धकेलिएको आयोजकले बताएको छ । यसले थप विद्यार्थीको सहभागिता प्रोत्साहित गर्ने र १७१ दर्ता गरिसकेका टोलीहरूलाई थप फाइदा दिने विश्वास लिइएको छ ।
कोडफेस्ट २०२४ मा सहभागी हुनका लागि प्रत्येक टोलीले पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । तर, एउटै कलेजबाट तीन टोली सहभागी भए दुई टोलीको मात्र शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार यस कार्यक्रममा सहभागी प्रत्येक टोलीले विज्ञहरूले प्रदान गर्ने कार्यशालामा पनि सहभागी हुन पाउनेछन् । यसमा वेब/एप डेभलपमेन्ट, यूआई/यूएक्स डिजाइन, बिजनेस डेभलपमेन्ट, साइबर सुरक्षा जस्ता विषयहरू समावेश छन्।
कोडफेस्ट २०२४ राष्ट्रिय स्तरको ह्याकाथन हो, जसको उद्देश्य प्रविधि क्षेत्रका विद्यार्थीलाई सँगै ल्याएर दिगो विकासका सात लक्ष्यमा उनीहरूको रचनात्मकता र शैक्षिक ज्ञानलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न प्रेरित गर्नु रहेको छ ।
यस कार्यक्रम अन्तर्गत विभिन्न चरणहरूमा प्रादेशिक र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार, प्रदेश स्तरमा १७ देखि २४ नोभेम्बरसम्म कोडफेस्ट हुने छ भने प्रदेशबाट चयन गरिएका २१ उत्कृष्ट टोलीहरूबीच काठमाडौंमा १३-१५ डिसेम्बरसम्म अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा आउने टोलीले क्रमशः दुई लाख र एक लाख रुपैयाँ जित्नेछन् । साथै, पिपल्स च्वाइस अवार्ड अन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न ग्याजेट्स, स्मार्टफोन, र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने आयोजकले जानकारी दिएको छ