close

अदालतको बैंक खातामा पठाउनु पर्ने साढे ७० करोड रकम एक्सले अन्यत्र पठाएपछि...

टेकपाना टेकपाना

असोज २०, २०८१ २०:२५

अदालतको बैंक खातामा पठाउनु पर्ने साढे ७० करोड रकम एक्सले अन्यत्र पठाएपछि...

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले एक ठाउँमा पठाउनु पर्ने रकम अर्कै ठाउँमा पठाएको खबर बाहिरिएको छ । एक्सले ब्राजिलको सर्वोच्च अदालतको बैंक खातामा पठाउनुपर्ने ५२ लाख ४० हजार डलर (साढे ७० करोड रुपैयाँ बढी) गलत खातामा पठाउन पुगेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार एक्सका वकिलहरूले सही बैंक खातामा नबुझाउँदा एक्सको सेवा पुन: सञ्चालन गर्ने अदालतको निर्णय स्थगित भएको छ । गत अगस्टको अन्तिम सातादेखि ब्राजिलमा एक्स निलम्बित छ । 

घृणा फैलाउने सामग्रीको व्यवस्थापनसम्बन्धी अदालतको आदेशको पालना नगरेको र देशको कानुनी नियम पालना गर्न गराउन असफल भएको भन्दै एक्सलाई ब्राजिलमा प्रतिबन्ध लगाइएको छ । तर हालै एक्सका वकिलहरूले सबै जरिवाना तिरिसकेको भन्दै सेवा पुन: सञ्चालन गर्न अनुरोध गरेेकाे थियाे ।

तर, सर्वोच्च अदालतका न्यायाधीश एलेक्सान्ड्रे डि मोराएसले यो रकम गलत खातामा जम्मा भएको उल्लेख गरेका छन् । उनका अनुसार एक्सले रकम तिरेको भए पनि अदालतले निर्दिष्ट गरेकाे खातामा नभई फरक खातामा पठाइएको थियो । त्यसकारण, रकम तत्कालै सही खातामा स्थानान्तरण गर्न निर्देशन दिएको उनले बताएका छन् ।

जरिवानाको विषय हल भएपछि मात्रै ब्राजिलका अभियोजनकर्ताले एक्सको अनुरोधमाथि आफ्नो राय दिने उनले जनाएका छन् । यता एक्सका वकिलहरूले जरिवाना अदालतकै खातामा तिरेको भन्दै अभियोजनकर्ताको राय लिन आवश्यक नरहेको तर्क गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८१ २१:१३