काठमाडौं । प्राय: युट्युबमा अनलाइनमार्फत नै भिडिओ हेरिन्छ । तर, सधैं इन्टरनेट हुन्छ भन्ने छैन । यसका लागि डाउनलोड गर्ने एउटा विकल्प छ । हुन त युट्युबमा भिडिओ डाउनलोड गर्ने इन्बिल्ट फिचर छ । तर यसरी डाउनलोड गरिएका भिडिओ अन्यत्र शेयर गर्न मिल्दैन ।
त्यस्तै डाउनलोड क्वालिटी ३६० पिक्सेलसम्म मात्र हुन्छ । अनि अहिले एचडी रेजोलुसनको जमानामा त्यतिको गुणस्तर के राम्रो होला ? यसका साथै क्रियटरले डाउनलोड बन्द गरेको भिडिओ समेत प्रिमियममा डाउनलोड गर्न सकिन्छ । अनि ३० दिनसम्म इन्टरनेट कनेक्सन भएन भने स्वतः ती भिडिओ हट्छन् ।
तर यी सबैको उपाय युट्युब प्रिमियम रहेको छ । युट्युब प्रिमियम सशुल्क युट्युब चलाउन पाइने एक विकल्प हो । हाल युट्युब प्रिमियमको शुल्क मासिक ३.४९ डलर (करिब ४७० रुपैयाँ) रहेको छ ।
विज्ञापनरहित भिडिओ, अफलाइन, ब्याकग्राउन्ड प्ले युट्युब प्रिमियमका लागि केही खास विशेषता हुन् । तर सबैले नि:शुल्क हेरिरहेको युट्युब चलाउन शुल्क तिर्न सक्दैनन् ।
जे होस्, तिनैका लागि युट्युबको भिडिओ डाउनलोड गर्ने अन्य विकल्प रहेका छन् । तर युट्युब बाहेक अन्य प्लेटफर्मबाट भिडिओ डाउनलोड गर्नु गैरकानूनी हो । ती प्लेटफर्मबारे जान्नु पनि आवश्यक छ । मानौं, यस पटकको दशैंमा कतै दुर्गम ठाउँमा जाने योजना बनाउँदै हुनुहुन्छ, त्यस्तोमा युट्युबका भिडिओ डाउनलोड गरिराख्दा समय बिताउन उपयोगी नै हुन्छ ।
यस सामग्रीमा हामी युट्युबको भिडिओ एन्ड्रोइडमा कसरी डाउनलोड गर्ने भन्नेबारे चर्चा गर्ने छौं:
-सबैभन्दा सुरुमा यहाँ क्लिक गरी ट्युबमेट (Tubemate) डाउनलोड गर्नुहोस् ।
-यसबेला तपाईंलाई 'अननोन् एप' इन्स्टल गर्न पर्मिसन दिनुपर्ने हुन सक्छ । यदि त्यस्तो भए त्यसमा 'अलाउ' गर्नुहोस् ।
-तर तपाईंले गुगल प्ले स्टोरबाहेकको माध्यमबाट डाउनलोड गरिरहनु भएकाले के डाउनलोड गर्दै छु भनेर अलि सचेत हुनुपर्छ ।
-एक पटक इन्स्टल गरिसकेपछि एप खोल्नुहोस् । अनि आफूले डाउनलोड गर्न लागेको भिडिओ सर्च गर्नुहोस् । यदि फोनमा भएको ब्राउजरबाट युट्युब खोल्नु भएको छ भने यसको इन्टरफेस करिब त्यस्तै छ ।