काठमाडौं । गुगल डिपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिस सहित डेभिड बेकर र जोन जम्परले २०२४ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । प्रोटिन संरचनालाई बुझ्न गरेको अनुसन्धानका लागि उनीहरूलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।
नोबेल पुरस्कार समितिले बुधवार गरेको घोषणा अनुसार पुरस्कारको आधा हिस्सा ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’का लागि बेकरलाई र आधा हिस्सा ‘प्रोटिन संरचनाको भविष्यवाणी’का लागि हासाबिस र जम्परलाई पुरस्कार दिइने भएको हो ।
पुरस्कार पाउने बेकर वासिङ्टन विश्वविद्यालयका प्राध्यापक हुन् भने हासाबिस गुगलको एआई अनुसन्धान शाखा गुगल डिपमाइन्डका सीईओ हुन् । त्यसैगरी जम्पर गुगल डिपमाइन्डमा नै वरिष्ठ अनुसन्धाकर्ताका रूपमा कार्यरत छन् । हासाबिस र जम्परले एआई प्रयोग गरेर करिब सबै प्रोटिनको संरचना भविष्यवाणी गर्न सफल भएका छन् । सन् २०२० मा उनीहरूले अल्फाफोल्ड टू नामक एआई मोडल सार्वजनिक गरेका थिए ।
यसकै सहयोगमा उनीहरूले प्रोटिन संरचनाको भविष्यवाणी गर्न सक्षम भएका हुन् । बेकरले भने सन् २००३ मा नै अमिनो एसिडलाई नियन्त्रण गर्दै नयाँ प्रोटिनहरू निर्माण गर्ने कला सिकेका थिए । यसले औषधि, खोप जस्ता क्षेत्रहरूमा आवश्यक पर्ने विभिन्न प्रोटिनहरू तीव्र गतिमा बनाउन ढोका खोल्ने बताइएको ।
अब उनीहरूलाई आउँदो १० डिसेम्बरका दिन एक विशेष समारोहबिच पुरस्कार विवरण गरिन्छ । यस पटक नै एआई सम्बन्धी अध्ययन गर्ने दुई वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भइसकेको छ ।