close

आईफोन १६ मा देखिन थाल्यो ब्याट्री छिट्टै घट्ने समस्या

टेकपाना टेकपाना

कात्तिक ४, २०८१ १३:४९

आईफोन १६ मा देखिन थाल्यो ब्याट्री छिट्टै घट्ने समस्या

काठमाडौं । आईफोन १६ र आईफोन १६ प्रोमा छिट्टै ब्याट्री सकिने समस्या देखिएको छ । सामाजिक सञ्जाल रेडिट र एप्पल कम्युनिटी प्लेटफर्ममा पोस्ट राख्दै प्रयोगकर्ताले नयाँ सिरिजमा ब्याट्री छिटो घट्ने समस्या देखिएको गुनासो गरेका हुन् । 

फोनमा आईओएस १८ अपडेट गर्नासाथ यस्तो समस्या देखिएको प्रयोगकर्ताको गुनासो छ । हुन त यसअघि आईओएस १८ को बेटा भर्सनमा पनि थुप्रै समस्या सहेको बताइएको थियो । सो अपडेटको फुल भर्सनमा पनि त्यस्तै समस्या आएका छन् ।

फोन प्रयोगमा नआएको बेला पनि ब्याट्री स्वात्तै घट्न थालेको भन्दै 'टीवान एएजे' नामका प्रयोगकर्ताले म्याकर्‍युमर्सको फोरममा उल्लेख गरेका छन् । “यो समस्या निकै गम्भीर देखिन्छ । आईफोन १६ प्रोमा ब्याट्री धेरै छिटो घटिरहेको छ भने यो अपडेटसँग सम्बन्धित हुन सक्छ । आईओएस १८ मा भएका केही समस्याहरू अहिले छलफलमा छन् । र, सम्भवतः भविष्यका अपडेटहरूले यसलाई समाधान गर्नेछन्,” ती प्रयोगकर्ताले लेखेका छन् ।

त्यस्तै 'जुलियन एल' युजरनेम भएका प्रयोगकर्ताले आईफोन १६ प्रो म्याक्समा ब्याट्री घट्ने समस्या देखिएको बताएका छन् । यसअघि आईफोन १५ प्रो म्याक्स प्रयोग गरिरहेका उनले सो फोन ९९ प्रतिशत ब्याट्री हेल्थ रहँदा बिक्री गरेका थिए । त्यस लगत्तै आईफोन १६ प्रो म्याक्स खरिद गरेका उनी ब्याट्रीमा देखिएको समस्याले दिक्दार भएका छन् । प्रयोग नगर्दा पनि फोनको ब्याट्री आफैं घट्नु दुखद रहेको उनले उल्लेख गरेका छन् । 

रेडिटमा पोस्ट राख्दै एक प्रयोगकर्ताले आईफोन १४ प्रो र १६ प्रोको ब्याट्री तुलना गरेको बताएका छन् । त्यस क्रममा प्रयोग नगर्दा पनि आईफोन १६ प्रोको ब्याट्री ३६ घण्टामा १०० प्रतिशतबाट ५८ प्रतिशतमा झरेको थियो भने त्यही समयमा आईफोन १४ प्रोको ब्याट्री ८५ प्रतिशतमा झरेको उनले दाबी गरेका छन् ।

हुन त ब्याट्री चाँडो घट्ने समस्या समाधान गर्न गाह्रो हुन्छ । खासगरी प्रयोगकर्ताले आईफोन कसरी प्रयोग गर्छन् भन्ने विषयमा ब्याट्री हेल्थ निर्भर हुन्छ । यो समस्या सामना गरिरहेका केही प्रयोगकर्ताले प्रो मोसन डिस्प्ले, अलवेज अन डिस्प्ले, ब्याकग्राउन्ड एप, विजेट्स हटाउने, कनेक्टिभिटी अफ गर्ने काम पनि गरे । तर, ब्याट्री छिटो घट्ने समस्या समाधान नभएको उनीहरूको गुनासो छ ।

केही प्रयोगकर्ताले भने आईओएस १८.०.१ र आईओएस १८.१ को बेटा भर्सनमा सुधार देखिएको जनाएका छन् । यद्यपि ब्याट्री तीव्र गतिमा घट्नुको खास कारण बाहिर आइसकेको छैन । एप्पलले पनि यस विषयमा आधिकारिक जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८१ १४:२५