close

मङ्गल ग्रहको बरफमा एलियन हुन सक्ने !

टेकपाना टेकपाना

कात्तिक ५, २०८१ १४:२६

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । मङ्गल ग्रहमा माइक्रोबियल एलियन (सूक्ष्मजीवी) हुन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकी वैज्ञानिकहरूको एक टोलीको पछिल्लो अध्ययनले हालै नयाँ तथ्य बाहिर ल्याएको हो ।

यस अध्ययन ‘पोटेन्सियल फर फोटोसिन्थेसिस अन मार्स विथिन स्नो एन्ड आइस’ शीर्षकमा प्रतिष्ठित जर्नल नेचर कम्युनिकेसन्स अर्थ एन्ड इनभाइरोन्मेन्टमा प्रकाशित छ । अध्ययन अनुसार मङ्गल ग्रहको सतहमा भएको बरफको मोटो तहले जीवहरूलाई घातक विकिरणबाट जोगाउन सक्छ । यही कारण त्यस्तो स्थानमा माइक्रोबियल एलियन हुन सक्ने दाबी गरिएको छ ।

अहिलेको अवस्थामा मङ्गल ग्रहको सतहमा कुनै जीव फेला परेका छैनन् । यसको कारण त्यहाँ उच्च मात्रामा पराबैगनी विकिरण पाइनु हो । तर वैज्ञानिकहरूको यस अध्ययनले बरफको तह बाक्लो भए जीव हुन सक्ने देखाएको छ । यसका लागि अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले मङ्गल ग्रहको धूलो र बरफको संरचना अध्ययन गरेका थिए ।

उनीहरूका अनुसार यदि बरफमा धेरै धूलो (०.०१ देखि ०.१ प्रतिशत) छैन भने सतहदेखि पाँचदेखि ३८ सेन्टिमिटरको गहिराइमा जीवनको सम्भावना रहेको छ । त्यसैगरी, यदि बरफ अझ सफा भएमा यो सम्भावना २.१५ देखि ३.१० मिटरको गहिराइसम्म रहेको छ ।

तर यस अध्ययनले मङ्गल ग्रहको बरफमा जीवनको अस्तित्वको ठोस प्रमाण भने दिएको छैन । भविष्यमा मङ्गल ग्रहमा जीवनको खोजी गर्दा यस्ता साना कुरामा समेत ध्यान दिनुपर्ने वैज्ञानिकहरूको सुझाव छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १४:३४