close

बीबीसीको सुरक्षा कमजोरी फेला पार्ने नेपाली ह्याकरलाई ‘हल अफ फेम’ सम्मान

टेकपाना टेकपाना

कात्तिक १३, २०८१ ११:९

बीबीसीको सुरक्षा कमजोरी फेला पार्ने नेपाली ह्याकरलाई ‘हल अफ फेम’ सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले आफ्नो वेबसाइटको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता सुशील फुयाललाई ‘हल अफ फेम’ सम्मान दिएको छ । फुयालले रिपोर्ट गरेको कमजोरीलाई मान्यता दिँदै हालै बीबीसीले उक्त सम्मान दिएको हो । 

बीबीसीको सेक्युरिटी डिस्क्लोजर पेजमा फुयालले पत्ता लगाएको कमजोरी उल्लेख छ ।

“मैले बीबीसीको साइटमा ‘इन्जेक्सन फ्ल’ फेला पारेको थिएँ,” टेकपानासँग कुरा गर्दै फुयालले भने, “यो जाभास्क्रिप्ट इन्जेक्सन थियो । यो भनेको एक्सटर्नल पेजबाट अर्काको वेबसाइटमा इन्जेक्ट गर्न मिल्ने समस्या थियो ।”  

फुयालले रिपोर्ट गरेको कमजोरीलाई बीबीसीले मान्यता दिएको थियो । त्यसपछि अनुसन्धानकर्ताको नाम र लिङ्क राख्ने क्रममा फुयालले आफ्ना स्वर्गीय हजुरबुवा खडानन्द फुयालको नाम राखेका छन् ।

“हजुरबुवा सानैमा टुहुरो भए पनि उहाँले संघर्ष गरेपछि आज हामी यो ठाउँमा छौं,” फुयालले भने, “त्यसैले यो सम्मान हजुरबुवामा समर्पित गर्न चाहन्छु । फुयालले पत्ता लगाएको इन्जेक्सन कमजोरीबारे विस्तृतमा जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

गत अगस्टमा अर्का नेपाली अनुसन्धानकर्ता आशुतोष देवकोटाले बीबीसीलाई रिपोर्ट गरेको सुरक्षा कमजोरीले पनि मान्यता पाएको थियो । उनले असुरक्षित डिजाइनको कमजोरी फेला पारेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८१ ११:९