close

राष्ट्रपति बन्ने पक्का भएपछि डोनाल्ड ट्रम्प्ले गरे एलन मस्क र स्पेसएक्सको प्रशंसा

टेकपाना टेकपाना

कात्तिक २१, २०८१ १४:५३

राष्ट्रपति बन्ने पक्का भएपछि डोनाल्ड ट्रम्प्ले गरे एलन मस्क र स्पेसएक्सको प्रशंसा

काठमाडौं । संयुक्त राष्ट्र अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने पक्का भएपछि डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै सम्बोधन गरेका छन् । मतपरिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ । यद्यपि अन्तिम नतिजा घोषणा हुन बाँकी छ । 

सम्बोधनका अवसरमा ट्रम्पले अर्बपति उद्यमी एलन मस्क र उनको अन्तरिक्ष कम्पनी स्पेसएक्सको खुलेर प्रशंसा गरेका छन् । ट्रम्पका अनुसार मस्क एक आश्चर्यजनक व्यक्ति हुन्, जसले प्रविधि क्षेत्रमा क्रान्ति ल्याएका छन् ।

उनले मस्कलाई 'नयाँ तारा' को संज्ञा दिए । “हामीसँग नयाँ तारा छ । त्यो हो एलन मस्क,” ट्रम्पले भने, “हामी रातभर सँगै बस्यौं । तपाईंलाई थाहा छ, उनी चुनाव प्रचारका क्रममा पेनसिल्भेनियाका विभिन्न ठाउँमा पुगे ।” 

हालै स्पेसएक्सले हासिल गरेको उपलब्धिलाई स्मरण गर्दै उनले यस्तो काम एलन मस्कले मात्रै गर्नसक्ने बताए । रकेटको बारेमा कुरा गर्दै ट्रम्पले भने, “यो तलै तल झर्‍यो, अनि तपाईंले त्यो आगो बलिरहेको देख्नुभयो । म सोच्दै थिएँ, यो कुनै अन्तरिक्ष युगको फिल्म हो कि के हो ? वास्तवमा यति साहसिक काम केवल एलनले मात्र गर्न सक्छन् ।”

स्पेसएक्सले परीक्षण गरेको रकेट हालै सम्पन्न भएको थियो । रकेटको बुस्टर छुट्टिएपछि त्यसलाई ठूलो स्ट्यान्डले अङ्गालोमा राखेको जसरी समात्न सफल भएको थियो । यही पलको प्रशंसा संसारभरका अन्तरिक्ष पारखीले गरिरहेका छन् ।

यससँगै मस्क ट्रम्पको राष्ट्रपतीय कार्यकालमा सँगसँगै देखिने छन् । उनी क्याबिनेटमा भने हुने छैनन् । ट्रम्पलाई अब मस्क कसरी सहयोग गर्छन् वा उनलाई के कस्ता विषयमा फाइदा पुग्छ भन्ने हेर्नै बाँकी छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ १६:५२