close

ठोक्किएर दुर्घटना हुँदा ढोका नखुलेपछि टेस्ला कारमा सवार यात्रु जलेको दाबी

टेकपाना टेकपाना

कात्तिक २९, २०८१ १५:११

ठोक्किएर दुर्घटना हुँदा ढोका नखुलेपछि टेस्ला कारमा सवार यात्रु जलेको दाबी

काठमाडौं । २४ अक्टोबरमा क्यानडाको टोरन्टो नजिकै राति टेस्ला कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको थियो । पाँच जना सवार गाडीमा चार जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएकी थिइन् । 

यसैबीच उक्त दुर्घटनामा गाडीको ढोका नखुल्दा त्यसमा सवार यात्रु तथा चालकले ज्यान गुमाएको दाबी गरिएको छ । गाडी जलिरहेको देखेपछि क्यानडा पोस्टका रिपोर्टर रिक हार्परले टेस्ला मोडल वाई गाडीको सिसा फलामको पाइपले फोडेर ती महिलालाई बाहिर निकालेका थिए । अरू बाँकी चार जनालाई भने उनले निकाल्न सकेनन् । र, जलेरै ज्यान गुमाउन पुगे । 

हार्परका अनुसार बाँचेकी ती युवती भित्रबाट गाडीको ढोका खोल्ने प्रयास गरिरहेकी थिइन् । तर, सफल हुन सकेकी थिइनन् । हार्परले फलामको रडले सिसा फोडेर ती युवतीलाई उद्धार गरे । 

टेस्ला गाडीमा चालक र यात्रुले ढोका खोल्न ह्यान्डलको सट्टा बटन थिच्नुपर्छ । तर, दुर्घटनापछि गाडीको पावर फेल भयो भने ढोका अड्किन पुगी नखुल्न सक्छ ।

“मलाई लाग्छ ती युवती भित्रबाट ढोका खोल्ने प्रयास गरिरहेकी थिइन् । किनभने उनी त्यहाँबाट निस्कन निकै आतुर थिइन्,” हार्परले डेली मेललाई भने, “मलाई थाहा छैन आगो लागेको ब्याट्रीको कारणले हो कि अरू केहीले हो । ढोका नखुल्दा उनी बाहिर निस्कन सकिरहेकी थिइनन् ।”

हार्परले झ्याल फुटाएपछि ती युवतीले गाडीबाट टाउको पहिले बाहिर निकालेर आफू निस्किइन् । धुवाँ यति बाक्लो थियो कि हार्परले गाडीभित्र अरु मानिसहरू थुनिएका छन् भन्ने कुरा थाहा पाएनन् । अरूले पनि बाहिर निस्कनका बेतोड प्रयास गरिरहेका थिए वा थिएनन् भन्ने चाहिं हार्परलाई थाहा छैन । 

स्थानीय प्रहरीका अनुसार गाडी टोरन्टोको लेक शोर बुलेवार्ड ईस्टमा उच्च गति हुँदै गाडी दुर्घटनाग्रस्त भएको थियो । जाँचकर्ताले दुर्घटनाको सही कारण पत्ता लगाउन भने बाँकी छ ।

टेस्लाले आफूले सुरक्षाका लागि नै कार डिजाइन गरेको दाबी गर्छ । यतिसम्म कि कम्पनीले दुनियाँकै सबैभन्दा सुरक्षित गाडी नै टेस्ला भएको बताउँदै आएको छ ।

यसो त टेस्ला गाडीमा म्यान्युअल ओभरराइड बटन रहेको बताइन्छ । तर, विशेषज्ञले यो फिचर सार्वजनिक नगरिएको जनाएका छन् ।

यस बटन दुर्घटनाको समयमा व्यक्तिलाई म्यानुअल्ली ढोका खोल्न सघाउने बताइएको छ । सुरक्षा निगरानी निकायका अनुसार दुर्घटनाको समयमा व्यक्तिहरू आत्तिएको वा उनीहरूलाई चक्कर लागेको हुनसक्छ । यसले गर्दा उनीहरूले यो फिचर तत्कालै प्रयोग गर्न नसक्ने हुन्छन् ।

नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनका अनुसार टेस्ला मोडेल वाईमा आगलागी भएको घटनामा अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८१ १५:२८